नेपाल प्रहरीका दुई प्रहरी उपरीक्षक(एसपी)माथि गम्भीर आरोपमा छानबिन अघि बढेको छ । एसपी कमल थापा र नवराज कार्कीमाथि छानबिन सुरु भएको हो । उजुरीअगाडि थापा अख्तियार र कार्की जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत थिए ।
एसपी थापामाथि हनी ट्रयापिङ गिरोहसँग मिलेको उजुरी छ । एसपी कार्कीमाथि क्रिप्टोकारोबारीसँग ४० लाख रुपैयाँ लिएको विषय छ । यसमा छुट्टाछुट्टै छानबिन अघि बढेको हो । अहिले दुवैलाई केन्द्रीय कार्यालय तानिएको छ । एसपी थापामाथि ललितपुर प्रहरीले अनुसन्धान गरिरहेको छ भने प्रहरी प्रधान कार्यालयले छानबिन गरिरहेको छ । त्यस्तै, एसपी कार्कीमाथि कोशी प्रदेशका एसएसपी भीम दाहालको नेतृत्वमा छानबिन चलिरहेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी दानबहादुर कार्की दुवै घटनामा सूक्ष्म रूपमा छानबिन भइरहेको र छानबिन प्रतिवेदनका आधारमा कारबाही अघि बढ्ने बताए ।
एक व्यवसायीलाई ‘हनी ट्रयापिङ’मा फसाई बलात्कार मुद्दा चलाउने भनेर ललितपुरको भैँसेपाटी प्रभागमा थुनामा राखेर ३० लाख रुपैयाँ असुलिएको थियो । जुन घटनामा संलग्न गिरोहका नाइके ताज इस्लाम र भैँसेपाटी प्रभागकी तत्कालीन इन्स्पेक्टर बिनुकुमारी शाहीबिच उनै एसपी थापाले चिनजान गराइदिएका थिए । एसपी थापाकै सहयोगमा त्यसरी व्यापारीलाई फसाएर पैसा असुलिएको इस्लामले बयानमा बताएका छन् । सोही आधारमा जिल्ला सरकारी वकिल कार्यालय, ललितपुरले थापाको पनि बयान लिन प्रहरीलाई निर्देशन दिएको स्रोत बताउँछ । हाल ललितपुर प्रहरीले गिरोहका नाइकेसहित चारजनालाई थुनामा राखी संगठित अपराध र आपराधिक लाभ मुद्दामा अनुसन्धान गरिरहेको छ । गत सात असोजमा भैँसेपाटी प्रभागमा एक व्यवसायीलाई थुनामा राखी ३० लाख लेनदेनको मिलापत्र भएको थियो ।
उता एसपी कार्कीले भने मोरङको प्रहरी प्रमुख हुँदा क्रिप्टोकारोबारमा मुद्दा चलाउने भन्दै पैसा असुलेको पुष्टि भएको छ । इन्स्पेक्टर बिक्रम भट्टराईमार्फत उनले पैसा असुलेका हुन् । प्रारम्भिक छानबिनमा इन्स्पेक्टरले सो कुरा स्वीकार गरिसकेका छन् । ‘करिब ४० लाख रुपैयाँ डिल भएको र त्यसमध्ये आधा रकम लिएको देखिन्छ,’ छानबिनमा आबद्ध एक प्रहरी अधिकारी भन्छन्, ‘तर, अझै पैसा बरामद हुन सकेको छैन ।’
स्रोतका अनुसार पीडितलाई प्रभावमा पारी एसपी कार्कीलाई उजुरी दिनबाट रोक्ने प्रयास गरिरहेका छन् । आफ्नो जागिर जोगाइदिन भन्दै उनले त्यसरी एकातर्फ हारगुहार गरिरहेका छन् भने अर्काेतर्फ छानबिनमा पनि ढिलाइ भइरहेको छ । इन्स्पेक्टरसहित हवल्दार राजकुमार श्रेष्ठ, खगेन्द्र राउत, सरोज श्रेष्ठलगायतलाई छानबिनको दायरामा ल्याइएको छ । कतिसम्म भने आइजिपीलाई समेत झुक्याएर उनले एक घुमुवा राखेका थिए । ती घुमुवाले आइजिपीको नाम बेचेर पैसा उठाएको खुलेपछि हटाइएको थियो । तर, गणमा कार्यरत रहेको देखाएर कोशी प्रदेशका डिआइजी चन्द्रकुवेर खापुङ र एसपी कार्कीले परिचालन गरेको पुष्टि भएको छ । जसकारण डिआइजी खापुङलाई समेत प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले स्पष्टीकरण सोधेका छन् । जिल्लाबाट हटाइएको कार्की कारबाही रोकाउन दौडधुपमा छन् ।