खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले ०८० को पद्मश्री साहित्य पुरस्कार प्रा. कृष्ण गौतमलाई प्रदान गरेको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमबिच उक्त पुरस्कार प्रदान गरिएको हो । प्रतिष्ठानले पद्मश्री साधना सम्मान सिक्किमका पूर्वमुख्यमन्त्री पवनकुमार चाम्लिङ र पद्मश्री गौरव पुरस्कार प्रा. केदारभक्त माथेमालाई प्रदान गरेको छ । पुरस्कारको राशि तीन–तीन लाख रुपैयाँ रहेको छ ।
प्रतिष्ठानले गौतमलाई उनको उपन्यास ‘अद्वैत’का लागि पद्मश्री साहित्य पुरस्कार प्रदान गरेको हो । समालोचक गौतम पूर्वीय तथा पाश्चात्य दर्शन र साहित्यका गहन अध्येता तथा उत्तरआधुनिक सिद्धान्तका व्याख्यातासमेत हुन् ।
चाम्लिङ नेपाली भाषा, साहित्य तथा संस्कृतिको उन्नयनका लागि सिर्जना, पत्रकारिता तथा साहित्यिक गतिविधिमा दीर्घकालसम्म निरन्तर सक्रिय छन् । पूर्वराजदूतसमेत रहेका माथेमा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति हुन् । प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले समालोचक, सर्जक र साधक गौतमको कृति ‘अद्वैत’लाई पद्मश्री साहित्य पुरस्कारबाट सम्मानित गर्न पाउँदा हर्षित भएको बताए ।