सहकारी ठगी प्रकरण : पूर्वडिआइजी जोशीको बयान सकियो, आज पोखरा पठाइने

बुधबार, ७ कार्तिक, २०८१
डिजिटल संस्करण

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशीसँग रुपन्देहीमा दुई दिनसम्म बयान लिइएको छ । सरकारी वकिलको कार्यालयमा उनीसँग सोमबार र मंगलबार बयान लिइएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले दुई दिन बयान लिइएको बताए । सोमबार दिउँसो १२ बजेदेखि साझ पौने ७ बजेसम्म र मंगलबार बिहान ११ बजेदेखि साँझसम्मै जोशीसँग बयान लिइएको थियो । बयान प्रमाणीकरणको काम सकिएको पौडेलले बताए । जोशीको बयान चलिरहँदा मंगलबार भैरहवामा सहकारीपीडितले प्रदर्शन गरेका थिए ।

बयान सकिएकाले बुधबार जोशीलाई पोखरा पठाउने तयारी रुपन्देही प्रहरीले गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले जोशीलाई बुधबार दिउँसो पोखरा पठाइने बताए । सूर्यदर्शन सहकारीको रकम अपचलनमा पोखरामा अनुसन्धान भइरहेकामा जोशीलाई सोमबार सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा अनुसन्धान गर्न बुटवल ल्याइएको थियो ।

जोशीविरुद्ध रुपन्देहीमा उजुरी परेको तथा सहकारी रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा रुपन्देही ल्याई बयान लिइएको हो । 

See More On

सुझावित समाचार