विश्व फुटबलको सर्वोच्च निकाय फिफालाई साउदी अरेबियासँगको सम्झौता अन्त्य गर्न एक सय व्यावसायिक महिला फुटलबरहरूले आग्रह गरेका छन् । फिफाले सन् २०२६ को महिला विश्वकप तथा पुरुष विश्वकप प्रतियोगिताका लागि साउदी अरेबियाको एक तेल कम्पनीसँग प्रायोजनको सम्झौता गरेको छ । साउदी अरेबियाको अमार्को तेल कम्पनीले यी दुवै विश्वकपमा सहप्रायोजकको भूमिमा निर्वाह गर्नेछ । तर, युरोपियन महिला फुटबलहरूले साउदी अरेबियासँगको सम्झौताले आफूहरूको आत्मसम्मान गुमेको बताएका छन् ।
‘जुन राष्ट्रमा महिलाहरूप्रति कुनै सम्मान छैन, मानव अधिकार हनन भइरहन्छ, त्यस्तो राष्ट्रको कम्पनीसँग फिफाले सम्झौता गर्दा हामीलाई दुःख लागेको छ,’ नेदरल्यान्ड्सकी अन्तर्राष्ट्रिय खेलाडी भिभिआने मिडेमाले भनिन्, ‘फुटबलमा जहाँ महिलालाई केही अधिकार दिएको हुँदैन, त्यस्तो राष्ट्रसँग कहिले पनि सम्झौता गर्नुहुन्न, फिफाले सम्झौताबापत राम्रो रकम प्राप्त गरे पनि महिला फुटबलरका बारेमा एकपटक सोच्नुपर्छ ।’
अमार्को तेल कम्पनीसँगको सम्झौता रद्द गर्न युरोप र अमेरिकालगायत २४ राष्ट्रका महिला फुटबलरले संयुक्त रूपमा सोमबार फिफाको केन्द्रित कार्यालयमा निवेदन दिएका हुन् । फिफालाई बुझाएको निवेदनमा उनीहरूले मानव अधिकार र व्यावहारिक नभएको प्रस्ट उल्लेख गरेका छन् । ‘मेरो विचारमा विज्ञापन अहिलेको आवश्यकता होइन । फिफाले महिला फुटबल विकासप्रति ध्यान दिनुपर्छ,’ म्यानचेस्टर सिटीकी खेलाडीसमेत रहेकी मिडेमाले भनिन्, ‘म एक महिला फुटबल खेलाडीले साउदी अरेबियाको प्रायोजन गरेको प्रतियोगिता खेल्न सक्दिनँ ।’
फिफा र अमार्को कम्पनीबिचको सम्झौताविरुद्ध २३ सय अन्तर्राष्ट्रिय महिलाले विरोध जनाएका छन् । इंग्ल्यान्डकी डिफेन्डर नियम चाल्र्ससँगै क्यानडा र इटालीका कप्तानले समेत यस विरोध अभियानमा साथ दिएका छन् ।
सम्झौताको किन विरोध ?
खाडी राष्ट्रहरूमा मानव अधिकार उल्लंघन, महिला अधिकार हनन र समलिंगीको अपराधीकरणका आलोचना हुने गर्छ । साउदी अरेबियामा यी विभिन्न पक्ष नराम्रो अवस्थामा रहेको महिला फुटबलरहरूले दाबी गरेका छन् । ‘गल्फ राष्ट्रमा महिलामाथि धेरै अन्न्याय हुने गर्छ,’ मिडेमाले भनिन्, धेरै घरेलु महिला हिंसा धेरै हुने गर्छ ।’ अमार्कोले केही समयअगाडि फर्मुला वान तथा महिला गल्फ युरोपियन टुरमा लगानी गरेको थियो ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)मा समेत यस कम्पनीले सम्झौता गरेको छ । तेल कम्पनीले आफू महिला फुटबलको विकासका लागि अग्रसर हुँदै लगानी गरेको जनाएको छ । ‘हाम्रो कम्पनीको मुख्य उद्देश्य नै विश्वभरि महिला फुटबलको विकास गर्नु हो । साउदी अरेबियाको विभिन्न महिला खेलमा पनि राम्रो लगानी छ ।’
के भन्छ फिफा ?
युरोप तथा अमेरिकी महिला फुटबलहरूले विरोध जनाइरहँदा फिफाले सकारात्मक रूपमा लिन आग्रह गरेको छ । खाडी राष्ट्रमा मात्र नभएर विश्वभरि नै महिला फुटबल विकासका लागि अमार्को तेल कम्पनीसँग सम्झौता गरेको फिफाले विज्ञप्तिमातर्फ जनाएको छ । ‘फिफाले पुरुष फुटबलमा मात्र ध्यान केन्द्रित गरेको छैन, हामीले उत्तिकै महिलातर्फ पनि विचार गरेका छौँ, विश्व चर्चित तेल कम्पनीसँग फुटबल विकासकै लागि सम्झौता गरेका हौँ,’ फिफाले भन्यो, ‘यसलाई सकारात्मक सोच बनाएर अगाडि बढ्नुपर्छ ।’