जाडो मौसम । सुत्केरो ज्यान । कोराको सेतो कपडाले हावा छेक्दैन । मदाने गाउँपालिका– ७ भनभनेकी वसन्ता घर्तीले मुस्किलले ज्यान बचाएकी छिन् । उनलाई आफ्नो ज्यानभन्दा काखको सन्तानको माया छ । सामान्य अवस्था भएको भए उनी यतिवेला तातो र पोषिलो खाएर आराम गरिरहेकी हुन्थिन् । तर, अहिले सुत्केरी अवस्थामा पति वियोगको पीडामाथि किरियाको कष्ट झेलिरहेकी छिन् ।
पोषिलो खानपान नभएपछि दुध आएन, जसकारण कोखकी छोरीको भोक मेट्न सकिनन् । ११ दिनदेखि किरिया बस्दै आएकी उनले अहिले छिमेकीले नवजात शिशुलाई भैँसीको दुध खुवाउने गरेको सुनाइन् । ‘पीडाले भोक र प्यास छैन । सामाजिक रीत मान्नै पर्यो । कोराभित्र कष्ट लुकाउन बाध्य छु,’ उनले भनिन् । २४ असोजमा वसन्ताका ३४ वर्षीय पति ऋषिबहादुर घर्तीको हृदयघातको कारण ज्यान गयो । पतिको निधन हुँदा उनी ४० दिनको सुत्केरी थिइन् । पीडाले उभिन सकिनन् । तर, किरियाकर्म नगर्नुको विकल्प रहेन । अहिले वसन्ता र ११ वर्षीया छोरीले किरिया गरिरहेका छन् ।
वसन्ताले छोरी जन्माउँदाको प्रसव पीडा भुल्न पाएकी थिइनन् । उनले गुल्मी अस्पताल तम्घासमा दुई दिन प्रसव पीडा खेपेर १२ भदौमा छोरी जन्माइन् । घर फर्किएपछि पनि घर्तीको ज्यानले आराम र पोषिलो त पाएन नै, त्यसमाथि अहिले थपिएको पति वियोग र किरियाको पीडाले झन् कष्ट दिएको छ । ‘अस्पतालमा प्रसव पीडा खेपेर बाँचँे । घरमुली गुमाएपछि सहारा टुट्यो,’ उनले भनिन् ।
ऋषिबहादुरको मृत्युपछि वसन्तासँगै ११ वर्षीया छोरी रञ्जिता, सात वर्षीया रजिना र ५२ दिनकी शिशुको बिचल्ली भएको छ । दमको रोगले ६ महिनाअगाडि वसन्ताकी सासूआमा छमकली घर्तीको मृत्यु भएको थियो । पत्नी र छोराको पीडाले ७५ वर्षीय ससुरा भीमबहादुर घर्ती विक्षिप्त छन् । वसन्तालाई अहिलेको पीडासँगै घर, वृद्ध ससुरासँगै भोलिको चिन्ताले पिरोलेको छ ।
६ महिनाअघि आमाको निधनमा पनि स्थानीयले किरिया उम्काएका थिए । वसन्ता सुत्केरी हुँदा पनि खर्च थिएन । अहिले ऋषिको मृत्युपछि पनि सबै मिलेर सहयोग गर्नुको विकल्प नभएको उनका भिनाजु रामु घर्तीले बताए । रुखो बारी र शिर ओत्ने घरबाहेक अर्थोपार्जनको उपाय केही नभएकाले सहयोग गर्न घर्तीले आग्रह गरे । ‘दैवले देख्ने गरिब मात्र रहेछ । ६ महिनाको फरकमा आमाछोराको मृत्यु भयो । चिसोमा सुत्केरी र छोराछोरीको अवस्था देख्दा मन थामिन्न,’ उनले भने, ‘यो दुःखमा सबै जुटेर केही गरौँ ।’ मदाने गाउँपालिकाले आवश्यकताका आधारमा सहयोग गर्ने उपाध्यक्ष सरिता खड्काले बताइन् ।