नेपाल समाजवादी पार्टीको प्रथम विधान महाधिवेशन पोखरामा सुरु हुँदै छ । आज (सोमबार)देखि पोखरा सभागृहमा हुने अधिवेशन मंगलबारसम्म चल्नेछ ।
पार्टीका केन्द्रीय संयोजकसमेत रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अधिवेशनमा राजनीतिक प्रतिवेदनसँगै पार्टीको विधान र घोषणापत्र पेस गर्ने र सहभागी प्रतिनिधिहरूले दुई दिन छलफल गरी केही परिवर्तन गर्नुपरे गरेर पारित गर्ने जानकारी दिए ।
नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी वैकल्पिक राजनीतिक शक्तिको अभ्यासको थालनी गरेका उनले ३० जेठ ०७३ मा नयाँ शक्ति नेपाल पार्टी घोषणा गरेका थिए । त्यसकै निरन्तरतामा एकता, संघर्ष र रूपान्तरणको प्रक्रियामा जाँदै परिवर्तित रूप नेपाल समाजवादी पार्टी २९ असार ०७९ मा स्थापना भएको भट्टराईले बताए ।
स्थापनदेखि हालसम्म पार्टीले जुन रूपमा आकार र आफ्नो काम देखाउनुपर्ने हो त्यसमा अपेक्षा गरेअनुसार सफलता हात नलागे पनि अब आफूहरूले वैकल्पिक राजनीतिक शक्ति कस्तो हुन्छ भनेर देखाउने दाबी गरे ।
उनले ६–६ महिनामा सरकार परिवर्तन हुने काम रोक्नका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था आवश्यक रहेको बताए । अधिवेशनमा देशभरबाट चार सयभन्दा बढी सहभागी हुने नेता हेमबहादुर थापा किरणले जानकारी दिए । उनका अनुसार अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ भने १२ बजेबाट औपचारिक कार्यक्रम सुरु हुनेछ ।