अस्ताए वाइल्ड लाइफ पर्यटनका हस्ती

सोमबार, ५ कार्तिक, २०८१
डिजिटल संस्करण

नेपाली पर्यटन क्षेत्रका हस्ती वसन्तराज मिश्रको ७१ वर्षको उमेरमा निधन भएको छ । डेंगी संक्रमण भएर नर्भिक अस्पतालमा भर्ना भएका उनको उपचारकै क्रममा आइतबार बिहान ब्रेन ह्याम्ब्रेज भएर निधन भएको परिवारले जानकारी दिएको छ । उनको आइतबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

झन्डै पाँच दशकदेखि पर्यटन क्षेत्रमा सक्रिय मिश्रको निधनसँगै नेपाली पर्यटन क्षेत्रले गुणस्तरीय पर्यटनका अभियन्ता गुमाएको पर्यटन व्यवसायीहरूले बताएका छन् । प्रकृति र पर्यटनलाई आपसमा जोडेर उनले गुणस्तरीय पर्यटक भित्र्याउँदै आएका थिए । वसन्त मिश्र वाइल्ड लाइफ टुरिजमको ‘वान अफ दी पायोनियर’ रहेको कोरा टुर्सका संस्थापक–सिइओ विजय अमात्यले बताए । उनले भने, ‘नेपालमा हाई–इन्ड पर्यटक भित्र्याउनेमध्ये उहाँ अग्रस्थानमा हुनुहुन्थ्यो ।’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मिश्रको निधनबाट नेपालले एक सफल पर्यटन व्यवसायी गुमाएको बताएका छन् । 

मिश्रले प्रकृति र पर्यटनलाई आपसमा जोडेर गुणस्तरीय पर्यटक भित्र्याउँदै आएका थिए, उनी वाइल्ड लाइफ टुरिजमको ‘पायोनियर’ हुन्

सन् १९७० को दशकमा नेपाली पर्यटन क्षेत्रमा प्रवेश गरेका मिश्र पर्यापर्यटनका अनुयायी थिए । स्नातक उत्तीर्ण गरेपछि युरोप घुमेर फर्किएका उनले सन् १९७७ मा गोर्खा ट्राभलमा टुर अफिसरका रूपमा काम गर्न थाले । एक वर्षजति काम गरेर फेरि टाइगर टप्स ज्वाइन गरेको अमात्यले बताए  । ‘म र वसन्त मिश्र करिब एउटै समयमा पर्यटन क्षेत्रमा आबद्ध भएका हौँ । मैले यती ट्राभल ज्वाइन गरेँ, उहाँले गोर्खा ट्राभल ज्वाइन गर्नुभयो,’ अमात्यले पुराना दिन सम्झिए, ‘पछि आफैँ ट्राभल कम्पनी र रिसोर्ट खोल्नुभयो, उहाँ वाइल्ड लाइफमा पूरै सक्रिय रहनुभयो ।’

त्यसवेला टाइगर टप्स र गोर्खा ट्राभल नामी मानिन्थे । ‘मलाई आफ्नै ट्राभल खोल्न काम सिक्नु थियो, जुन गोर्खा ट्राभल र टाइगर टप्सले सिकायो,’ उनले भनेका थिए, ‘पछि टाइगर टप्ससँगकै साझेदारीमा एड्भेन्चर ट्राभल खोलियो, त्यहाँ साढे आठ वर्षजति काम गरेपछि सन् १९८८ मा एकल लगानीमा भेन्चर ट्राभल खोलेको हुँ ।’ भेन्चर ट्राभल अहिले पनि सञ्चालनमा छ । सन् १९९० मा चितवन राष्ट्रिय निकुञ्जभित्र टेम्पल टाइगर रिसोर्ट खोले । जंगलभित्रको रिसोर्ट बन्द गराइएपछि निकुञ्जबाहिर राप्ती नदि किनार नवलपुरको अमलटारीमा सोही नाममै सफारी रिसोर्ट सञ्चालनमा ल्याए । 
उनको ठमेलमा अपार्टमेन्ट होटेल पनि सञ्चालनमा छ । टेम्पल टाइगर ट्रेकिङ एन्ड एक्सिपिडिसन र माउन्टेन भ्युअर भेन्चर कम्पनी पनि सञ्चालनमा छन् । उनको कुपन्डोलमा १५ कोठाको लक्जरी बुटिक होटेल सञ्चालन गर्ने धोको भने पूरा हुन पाएन । 

टेम्पल टाइगर ग्रुप अफ कम्पनीका कार्यकारी अध्यक्ष रहेका मिश्र चिलीका अवैतानिक महावाणिज्य दूत थिए । उनी प्यासिफिक एसिया ट्राभल एसोसिएयसन (पाटा) इन्टरनेसनलका पूर्वसचिव तथा कोषाध्यक्ष हुन् । उनी पाटा नेपाल च्याप्टरको अध्यक्ष पनि बने । पछि पाटा नेपालले उनलाई आजीवन सदस्य बनाएको थियो । एसोसिएसन अफ टुर अपरेटर्सका पूर्वअध्यक्षसमेत रहेका उनको पर्यटन बोर्ड स्थापनामा महत्वपूर्ण योगदान छ । उनी सन् २०१३ देखि २०१६ सम्म नेपाल उद्योग परिसंघको उपाध्यक्ष थिए । उनले डब्लुटिएम, आइटिबी, पाटा ट्राभल मार्टजस्ता ठूला अन्तर्राष्ट्रिय पर्यटन मेलाहरूमा सक्रिय सहभागिता जनाएर नेपाली पर्यटनलाई विश्वजगत्मा चिनाउन ठूलो योगदान गरेको कोरा टुर्सका सिइओ अमात्यले बताए । 

पर्यटन उद्योगमा सक्रिय मिश्रको निधनले नेपालको पर्यटन उद्योगले एक कर्मठ, निष्ठावान् अभिभावक गुमाएको नेपाल उद्योग परिसंघको ठहर छ । परिसंघले विज्ञप्तिमार्फत भनेको छ, ‘नेपालको पर्यटन उद्योगका विषयमा सधैँ चिन्ता र चासो राख्ने मिश्रले विदेशी पर्यटक भित्र्याउन खेल्नुभएको भूमिका महत्वपूर्ण छ ।’

अमात्यका अनुसार मिश्र सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय थिए । पछिल्लो समय ज्यानु–वसन्तराज मिश्र फाउन्डेसनमार्फत पर्यटन पत्रकारिता, वातावरण संरक्षण र शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान गर्ने व्यक्ति–संघसंस्थालाई जनही तीन लाख रुपैयाँको पुरस्कार प्रदान गर्न सुरु गरेका थिए । उनको भनाइ थियो, ‘यस क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्ति तथा संस्थाहरूलाई थप प्रोत्साहित गर्न पुरस्कार स्थापना गरेको हुँ ।’
 

सुझावित समाचार