सातौँ दक्षिण एसियाली महिला फुटबल च्याम्पियनसिप (साफ)को सेमिफाइनलको आशा जीवितै राख्न नेपालले सोमबार दशरथ रंगशालामा माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्दै छ । समूह ‘बी’को दोस्रो खेलमा नेपालसमक्ष जितबाहेक अरू विकल्प छैन । बराबरी नतिजाले नेपालको सेमिफाइनल पुग्ने आशा लगभग समाप्त हुनेछ । अंकगणितीय आधारमा मात्र नेपालको आशा रहनेछ । यसमा पनि विपक्षी टोलीको नतिजाको प्रतीक्षा गर्नुपर्छ ।
यसअघि आफ्नो पहिलो खेलमा भुटानसँग इतिहासमै पहिलोपटक गोलरहित बराबरीमा रोकिएपछि नेपाल दोस्रो खेलमा दबाबमा देखिएको हो । भुटानसँगको खेलमा नेपाल फाइनल थर्डमा निरन्तर रूपमा चुकेको थियो । मिडफिल्डर र फिनिसिङ लाइनका खेलाडीबिच तालमेल नहुँदा नेपालले भुटानविरुद्ध कम्तीमा आधा दर्जन गोल चुकाएको थियो ।
नेपालका प्रशिक्षक राजेन्द्र तामाङले पनि भुटानसँगको खेलका कारण माल्दिभ्सविरुद्ध चर्को दबाबमा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएको बताए । ‘पहिलो खेलमा जित निकाल्दा माल्दिभ्ससँगको खेल सहज हुने थियो, तर भुटानसँग नराम्रो खेल्यौँ । यसकारण आजको खेलमा दबाब छ,’ तामाङले भने, ‘अघिल्लो खेलमा भएका गल्ती नदोहो¥याउने पक्षमा छौँ ।’
नेपाली टोलीकी सर्वाधिक अनुभवी स्ट्राइकर सावित्रा भण्डारीको आमगनले खेलाडी हौसिएको तामाङको भनाइ छ ।
सावित्रा आबद्ध फ्रेन्च क्लबले उनलाई समयमै रिलिज नगरेका कारण उनले भुटानविरुद्धको खेल गुमाएकी हुन् । भुटान र नेपालबिचको खेल फिफा डेमा थिएन । ‘सावित्राको आगमनले केही राहत मिलेको छ, तर हामीलाई जितबाहेक अरू विकल्प छैन,’ प्रशिक्षक तामाङले भने, ‘पहिलो खेलमा भुटान बलियो टोली थियो । माल्दिभ्स तुलानात्मक रूपमा कमजोर छ । सावित्रा पनि जोडिँदा टिम थप बलियो हुन्छ ।’
साफ च्याम्पियनसिपमा नेपाल र माल्दिभ्सबिच दुई खेल भएका छन् । जसमा नेपालले दुवै खेलमा जित निकालेको छ । सन् २०१२ मा नेपालले माल्दिभ्सलाई ५–० र सन् २०१६ मा ९–० ले हराएको थियो । पहिलो खेलमा घाइते मिडफिल्डर दीपा शाही र रक्षक हिराकुमारी भुजेललाई नेपालले दोस्रो खेलमा गुमाउनेछ । यी दुवै खेलाडीका एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसिएल) गएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
दीपा र हिरा नौ महिना मैदानबाहिर
पहिलो खेलमा भुटानविरुद्ध घाइते भएकी मिडफिल्डर दीपा र रक्षक हीराकुमारी नौ महिना मैदानबाहिर हुने भएका छन् । घुँडाको एसिएलमा चोट लागेपछि दुवै खेलाडी नौ महिना मैदानमा नहुने एन्फाले जनाएको छ । उनीहरूको एसिएल शल्यक्रिया गर्नुपर्ने भएको छ । शल्यक्रियाको सात महिनापछि दुवै खेलाडी रिह्याबमा उपलब्ध हुनेछन् । भुटानविरुद्धको पहिलो हाफको इन्जुरी समयमा हिरा इन्जुरी हुँदै बाहिरिएकी थिइन् । उनलाई मैदानबाटै अस्पताल लगिएको थियो । उनको स्थानमा विमला विक मैदानमा प्रवेश गरेकी थिइन् । दोस्रो हाफमा मैदान छिरेकी दीपालाई खेलको अन्त्यतिर प्रतिस्थापन गरिएको थियो । दीपाको स्थान अनिता केसीले लिएकी थिइन् ।
नेपालविरुद्ध माल्दिभ्सको नतिजा
मिति नतिजा
सन् २०१२ ५–०
सन् २०१६ ९–०
सावित्राले पहिलो सेटमै खेल्न सक्ने
नेपालका प्रशिक्षक तामाङले सावित्रा तयार भएको अवस्थामा पूरै समय खेलाउन आफू तयार भएको बताएका छन् । ‘सावित्राले चाहेको अवस्थामा पूरै समय खेलाउन सक्छौँ । तर, लामो यात्रापछि कति थकित हुन्छिन् र उनको भनाइ के आउँछ, प्रतीक्षामा छौँ,’ तामाङले भने । इभान्ट गुन्गाम्पबाट आइतबारै भएको फ्रेन्च महिला लिगमा सावित्राले टोलीको जितमा पहिलो गोल गरेकी थिइन् । यस सिजन पाँच खेलमा सावित्राआबद्ध फ्रेन्च टोलीको पहिलो जित हो ।
बंगलादेश रोकिँदा भारत सेमिफाइनलमा
साबिक विजेता बंगलादेश पाकिस्तानसँग पहिलो खेलमा १–१ को बराबरीमा रोकिँदा समूह ‘ए’बाट भारत एक खेलअगाडि नै साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । भारतले पहिलो खेलमा पाकिस्तानलाई ५–२ ले हराएको थियो । दुई खेल खेलेको पाकिस्तान र एक खेल खेलेको बंगलादेशको समान १ अंक छ । यस समूहबाट पाकिस्तान र बंगलादेशको अन्तिम चारमा पुग्ने सम्भावना बाँकी छ । अन्तिम खेलमा भारत र बंगलादेशबिच हुनेछ ।
जित वा बराबरीले बंगलादेश सेमिफाइनलमा पुग्नेछ । भारतसँग ३–० ले पराजित हुँदा बंगलादेश समूह चरणबाटै बाहिरिनेछ । पाकिस्तान समूह उपविजेताका रूपमा अन्तिम चारमा पुग्नेछ । बंगलादेश प्रतियोगिताको साबिक विजेता हो । पाकिस्तान अन्तिम चारमा पुग्ने वा नपुग्ने छिनोफानो भारत र बंगलादेशको नतिजाले प्रस्ट हुनेछ ।
दशरथ रंगशालामा आइतबार पाकिस्तानले अप्रत्याशित रूपमा ३२औँ मिनेटमा बंगलादेशविरुद्ध १–० को अग्रता लियो । जाहमेना सामिन मालिकले काउन्टर एट्याक्टमा पाकिस्तानलाई १–० को अग्रता दिलाएकी हुन् । उनले डिबक्सबाहिर दुई बंगलादेशी डिफेन्डर र गोलरक्षकलाई छक्याउँदै गोल गरेकी हुन् ।
पाकिस्तान जितनजिक थियो । तर, खेलको अन्तिम इन्जुरी समयमा पाकिस्तान सम्हालिन सकेन । यसै इन्जुरी समयमा बंगलादेशले १–१ को बराबरी गोल फर्काउँदा पाकिस्तान निराश भयो । बंगलादेशलाई हारबाट जोगाउन समसुनुहार जुनियरले गोल गरेकी हुन् । पाकिस्तानले रक्षात्मक खेल खेल्दै बंगलादेशलाई दबाबमा राखेको थियो ।