सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी सिफारिसका लागि समिति बनाएको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले पूर्वप्रधानन्याधीश ओमप्रकाश मिश्रको नेतृत्वमा पाँच सदस्यीय सिफारिस समिति गठन गरेको हो ।
यसअघि ३० चैत ०८० मा पनि सरकारले मिश्रको अध्यक्षतामा सिफारिस समिति गठन गरेको थियो । तर, मानवअधिकार आयोगले विचाराधीन विधेयक पारित गर्नुपर्ने सर्तसहित समितिमा सदस्यको प्रतिनिधित्व नगराउँदा सिफारिस भएको थिएन ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) ३० साउनमा प्रतिनिधिसभा र ६ भदौमा राष्ट्रियसभाबाट पारित भइसकेकाले सरकारले पदाधिकारी नियुक्तिको प्रक्रिया अगाडि बढाएको हो ।
दुबै आयोगका अध्यक्षसहित पाँच सदस्य सिफारिस हुनेछन् । दुबै आयोग ३१ असार ०७९ देखि पदाधिकारीविहीन छन् । दुवै आयोगको म्याद पदाधिकारीविहीन अवस्थामै पाँचौँपटक थप गरिएको छ । कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताको बिहीबारको बैठकले मात्र सिफारिस समितिलाई पूर्णता दिएर आयोगमा पदाधिकारी नियुक्त गर्ने निर्णय गरेको थियो ।