सिनवारको हत्याले थप प्रतिरोध निम्त्याउनेछ

आइतबार, ४ कार्तिक, २०८१
डिजिटल संस्करण

इजरायलले प्रमुख यहुदी सर्वोच्चतावादी राष्ट्रवादविरोधी व्यक्तिको हत्या गरेको हुन सक्छ, तर यसले थप प्रतिरोधलाई उत्तेजित गरिरहेको छ 

बिहीबार १७ अक्टोबरका दिन इजरायलले गाजापट्टीमा हमास नेता याह्या सिनवारको हत्या गरेको छ । यो नरसंहारकारी युद्धका दौरान सिनवार केही समययतादेखि ‘उच्च महत्वको निसाना’मा रहेका थिए । स्मरण रहोस्, नरसंहारमा एक वर्षमा ४२ हजारभन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाएका छन् । र, यो युद्ध अहिले लेबनानमा पनि फैलिएको छ । निःसन्देह सिनवारको सफायाले चलिरहेको नरसंहार अन्त्यको संकेत गर्दैन । यसलाई इजरायलका प्रधानमन्त्री नेतन्याहुले हत्यापश्चात्को घोषणामा पनि जनाएका छन् । ‘आज हामीले हिसाब बराबर गरेका छौँ । आज राक्षसी तत्वलाई झट्का लागेको छ । तथापि, हाम्रो कार्यभार समाप्त भएको छैन,’ नेतन्याहुले भनेका थिए ।

इजरायली सत्ताको अस्तित्व नै अनन्त नरसंहारमा निहित छ र यस अवस्थामा इजरायलले सम्पन्न गर्नुपर्ने ‘कार्यभार’ कहिल्यै पूरा हुनेछैन । अर्थात्, यो कार्यभार कम्तीमा तबसम्म सकिनेछैन, जबसम्म प्यालेस्टिनी र अरबका जनता इजरायलको रक्तपातपूर्ण प्रयासको प्रतिरोध गर्न प्रतिबद्ध रहिरहनेछन् । यद्यपि सिनवारको हत्यापछि पनि युद्ध जारी राखे इजरायललाई यस युद्धको औचित्य पुष्टि गर्न भने गाह्रो हुनेछ । तर, यो औचित्यले इजरायलको प्राथमिक अन्तर्राष्ट्रिय समर्थक अमेरिकाका लागि भने कुनै महत्व राख्दैन । नरसंहारमा पहिल्यैदेखि अमेरिकाको भूमिका रहँदै आएको छ । अमेरिका केही समययतादेखि सिनवारको खोजीमा संलग्न थियो । अगस्टमा न्युयोर्क टाइम्सले रिपोर्ट गरेअनुसार बाइडेन प्रशासनले इजरायललाई ‘ग्राउन्ड पेनिट्रेटिङ रडार’ (जमिनमुनि पनि खोज गर्ने रडार) र सिनवारको सञ्चार संवादलाई निगरानी गर्ने जासुसी एजेन्सीको सहयोग उपलब्ध गराएको थियो । हेजबुल्लाहका प्रतिष्ठित महासचिव हसन नसरल्लाहको बेरुतमा सेप्टेम्बरमा इजरायलले गरेको हत्याझैँ सिनवारको हत्या पनि निःसन्देह प्रतीकात्मक छ । यो विशेषतः इजरायलको घातक प्रयासविरुद्ध प्रतिरोध गरेको सिनवारको इतिहासलाई हेर्दा सत्य लाग्छ ।

गत वर्षयता सिनवार गाजामै बसे र इजरायलविरुद्ध सैन्य कारबाहीको नेतृत्व गरे । उनले इजरायली नेताभन्दा धेरै साहस देखाएका थिए । स्मरण रहोस्, इजरायली नेताले नरसंहारका लागि समर्थनको अभावको गुनासो गर्दै विश्व भ्रमण गरेका थिए । पश्चिमा मिडियाले निःसन्देह इजरायललाई ‘कार्यभार’ पूरा गर्न अनुमति दिने भाष्यलाई सुदृढ गरेका थिए र यसक्रममा यी मिडियाले सिनवारलाई इजरायललाई ध्वस्त पार्ने एक हत्यारा खलनायकका रूपमा चित्रण गर्न कुनै कसर बाँकी राखेका थिएनन् ।

वास्तवमा सिनवारसँगको सन् २०१८ को अन्तर्वार्ताको अंशले हमास नेता सिनवार नष्ट गर्नेभन्दा पनि प्यालेस्टाइनको भविष्य निर्माण गर्ने उद्देश्यमा थिए भन्ने देखाउँछ । ‘म आइन्दा संघर्ष गर्दिनँ भनेर भन्दिनँ वा म युद्ध चाहन्नँ त भन्दिनँ । म गाजामाथिको इजरायली कब्जा अन्त्य गर्न चाहन्छु । तपाईँ सूर्यास्तका समयमा समुद्री तटमा टहलिनुस्, तपाईँ त्यहाँ ती तमाम किशोर–किशोरी समुद्रपारिको त्यो विश्व कस्तो होला भनेर कुरा गर्दै गरेको भेट्नुहुन्छ ? यी किशोर–किशोरी जीवन कस्तो होला भनेर गमिरहन्छन् । यसले विचलित बनाउँछ । वास्तवमा यसले सबैलाई विचलित बनाउनुपर्छ । म यिनलाई स्वतन्त्र बनाउन चाहन्छु,’ सिनवारले अन्तर्वार्तामा भनेका थिए । गाजाको शरणार्थी शिविरमा जन्मेका सिनवारलाई आफूले हिंस्रक रूपमा कब्जा गरेको प्यालेस्टिनी भूमि फिर्ता गर्न संघर्ष गरेका कारण दुई दशकभन्दा बढी समयसम्म इजरायलले कैद गरेको थियो । उनको लामो कारावासले उनलाई प्यालेस्टिनी ‘स्वतन्त्रता’मा इजरायलले लगाएको गम्भीर प्रतिबन्धबारे गहिरो ढंगले सजग बनाएको थियो ।

स्वतन्त्रतामा लगाइएका यी सीमा अहिले पहिलेभन्दा पनि धेरै चरम अवस्थामा पुगेका छन् । गाजाका किशोर–किशोरीले सूर्यास्त हेर्ने दिन र इजरायलको निरन्तर घेराबन्दी एवं बमबारीबाहिर जीवनको सपना देख्ने दिन अब गए । अहिले यी किशोर–किशोरी इजरायली आक्रमणको सिकार हुने दिन कुरिरहेका छन्, अर्थात् अस्पतालमा समेत जिउँदै जल्न अभिशप्त छन् । इजरायलले एक प्रमुख जायनिस्ट (यहुदी सर्वोच्चतावादी राष्ट्रवाद) विरोधी व्यक्तिको हत्या गरेको हुन सक्छ, तर यसले थप प्रतिरोधलाई उत्तेजित गरिरहेको छ । बिडम्बना, यो उत्तेजना इजरायलको हिंसात्मक र लाभदायक एजेन्डा फस्टाउन जारी राख्न आवश्यक तत्व हो ।

माथि उल्लेख गरिएको न्युयोर्क टाइम्सको अगस्टमा आएको रिपोर्टअनुसार याह्या सिनवारको हत्या गर्दा वा कब्जा गर्दा नेतन्याहुलाई ठुलो सैन्य विजयको दाबी गर्ने ठाउँ मिल्ने र गाजामा कारबाही अन्त्य गर्न प्रोत्साहित गर्न सक्नेमा अमेरिकी अधिकारी विश्वस्त थिए । यद्यपि नेतन्याहुले हालै भनेअनुसार इजरायलले सिनवारसँग ‘हिसाब बराबर’ गरेको छ तैपनि ‘कार्यभार अझै पूरा’ भएको छैन । इजरायलले जुलाईमा सिनवारका पूर्ववर्ती इस्माइल हानियको हत्या गर्दा रोयटर्सले हानियलाई हमासका अन्य नेताभन्दा बढी उदार मानिएको तथ्य औँल्याएको थियो । र, इजरायल अशान्ति अन्त्य गर्न चाहन्न भन्ने मनसायमा जोड दिएको थियो ।

सिनवारको हत्यापछि अमेरिकी राष्ट्रपति बाइडेनले गाजामा सिनवार र अन्य हमास नेतालाई पत्ता लगाउन इजरायलसँग नजिकबाट काम गरेकोमा अमेरिकी विशेष कारबाही र गुप्तचर टोलीको प्रशंसा गर्दै एक बयान जारी गरेका छन् । बाइडेनले यसलाई सन् २०११ मा ओसामा बिन लादेनको हत्यासँग तुलना गरेका छन् र यसलाई ‘इजरायल, अमेरिका र विश्वका लागि राम्रो दिन’को संज्ञा दिएका छन् । तर, नरसंहारका लागि राम्रो भनिएको दिन वास्तवमै राम्रो दिन भने होइन ।

(फर्नान्डेज लेखक एवं अल जजिराकी स्तम्भकार हुन्) 
अल जजिराबाट

 

See More On

सुझावित समाचार