रवि पक्राउको विरोधमा जिल्ला–जिल्लामा प्रदर्शन

आइतबार, ४ कार्तिक, २०८१
डिजिटल संस्करण

सहकारीमा प्रत्यक्ष नजोडिए पनि राजनीतिक प्रतिशोध साँध्न रविलाई पक्राउ गरिएको भन्दै काठमाडौं, वीरगन्ज, भरतपुर, पोखरा र महेन्द्रनगरमा प्रदर्शन

सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उसका समर्थक र शुभचिन्तकहरू देशव्यापी रूपमै आन्दोलित भएका छन् । शनिबार पोखरा, काठमाडौं, भरतपुर, वीरगन्ज, बर्दिवास, महेन्द्रनगरलगायत सहरमा प्रदर्शन भएको हो । लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएकाले ठुलो प्रदर्शन पोखरामा भएको छ । रास्वपाका सबैजसो शीर्ष नेताहरू पोखरा पुगेका छन् । पोखराको महेन्द्रपुलमा जम्मा भएर निकालिएको विरोध र्‍याली पाँच सय मिटर पर मानव अधिकार चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । 

सहभागीहरूले ‘राजनीतिक प्रतिशोध बन्द गर’, ‘सहकारी पीडितलाई न्या दे’, ‘नडराऊ रवि दाइ’, ‘भ्रष्ट सरकार मुर्दावाद’जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरे । सहकारी घोटालामा आफ्ना पार्टीका नेतालाई जोगाउन तथा राजनीतिक प्रतिशोध साध्न लामिछानेलाई पक्रिएको भन्दै उनीहरूले नाराबाजी गरे । सहकारीको रकम ठगीमा मुछिएका कांग्रेस नेता धनराज गुरुङ, एमाले नेता ऋषिकेश पोखरेलपत्नीलगायत नेता कार्यकर्ता जोगाउन सरकार लागेको उनीहरूको आरोप थियो ।

रास्वपा उपसभापति डा.स्वर्णिम वाग्लेले सरकारले प्रतिशोध साध्न लामिछानेलाई पक्राउ गरेको आरोप लगाए । ‘संसदीय छानबिन विशेष समितिले क्लिन चिट दिएर निर्दोष साबित गरेका सभापतिलाई दोषी देखाएर सरकारले सहकारी ठगीमा प्रत्यक्ष जोडिएका कांग्रेसका धनराज गुरुङ र एमालेका ऋषिकेश पोखरेललाई बचाउनतर्फ लाग्यो । तत्कालीन गृहमन्त्री लामिछानेले विभिन्न काण्डमा मुछिएकालाई पक्राउ गर्ने तयारी गरेपछि डराएको कांग्रेस र एमालेले रातारात समीकरण परिवर्तन गरेर त्यसपछि बनेको केपी ओली नेतृत्वको सरकारले आफ्नो कुशासन, भ्रष्टाचार र अक्षमतासँगै अन्य कमजोरी लुकाउन लामिछानेलाई पक्राउ गर्‍यो । पार्टी सभापतिको सेखी झार्ने र उनलाई फसाउनेसँगै रास्वपालाई सिध्याउने सरकारको उद्देश्य पूरा हुँदैन,’ उनले भने ।

रास्वपाका अर्का उपसभापति डिपी अर्यालले लामिछाने निर्दोष रहेको बताए । ‘पार्टी सभापति निर्दोष छन् भन्नेमा सिंगो पार्टी ढुक्क छ । सभापतिलाई झुटा मुद्दा लगाएर फसाउने योजनासहित सरकार अघि बढेको छ, सरकारले नियत ठिक भएन । तर पनि आवश्यक अनुसन्धानका लागि न्यायालयलाई सहयोग गर्न हामी तयार छौँ । न्यायालयले निष्पक्ष तरिकाले फैसला गर्छ भन्नेमा आशावादी छौँ,’ उनले भने ।

रास्वपा प्रवक्ता मनीष झाले पार्टी सहकारी अनियमिततामा निर्दोष रहेका पार्टी सभापति लामिछानेलाई फसाउन सरकार लागेको बताए । ‘सत्तारूढ दलहरूले अन्तिम हतियारको रूपमा प्रयोग गरेकाले उनीहरूका लागि यो अन्तिम भोज हो । रास्वपाले अब नयाँ यात्रा सुरु गर्दै राजनीति कस्तो हुन्छ भनेर पुराना दलहरूलाई देखाउनेछ,’ उनले भने । 

रास्वपा सांसद विराजभक्त श्रेष्ठले सहकारी ठगीमा प्रत्यक्ष जोडिएका आफ्ना पार्टीका नेतालाई समातेर कारबाही गर्नुको साटो उनीहरूलाई बचाउन निर्दोष रहेका लामिछानेलाई पक्राउ गरेको बताए । ‘संसदीय छानबिन विशेष समितिले निर्दोष भनेर क्लिन चिट दिएका सभापतिलाई समातेर सरकारले अन्यायपूर्ण काम गर्‍यो । यसविरुद्ध पार्टीले निरन्तर प्रदर्शन गर्नेछ,’ उनले भने ।

अर्की सांसद डा. तोषिमा कार्कीले वर्तमान सरकारलाई बिचौलियाको भएको आरोप लगाइन् । ‘बाढीपीडितलाई राहत उपलब्ध गराउनेमा सरकारको ध्यान जानुपर्नेमा आफ्नो कमीकमजोरी लुकाउन निर्दोष व्यक्ति फसाउने काममा सरकार लाग्यो । सरकारले फसाउन खोजे पनि अदालतले निष्पक्ष फैसला गर्नेमा ढुक्क छौँ,’ उनले भनिन् ।

रास्वपाका अर्का सांसद हरि ढकालले नयाँ दलसँग पुराना दल डराएको बताए । ‘३४ वर्षसम्म देश लुटेर टाट पल्टाएका दलहरू नयाँ पार्टीको पनि उदय भएपछि ०८४ लाई सम्झेर डराएका छन् । नयाँ उदय भएकालाई पाखा लगाउने उद्देश्यसहित सभापति लामिछानेलाई पक्राउ गरियो । सरकारले गलत नियतले पक्राउ गरे पनि न्यायालयप्रति हाम्रो विश्वास छ । पार्टी सभापतिले न्याय पाउँछन्,’ उनले भने । 

काठमाडौंमा रास्वपाको प्रदर्शन
लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै काठमाडौंसहित विभिन्न जिल्लामा प्रदर्शन भएको छ । काठमाडौंको माइतीघरमा रास्वपाका कार्यकर्ता तथा समर्थकहरूले सरकारविरुद्ध नाराबाजी गरे । रास्वपा जारी जिल्ला अधिवेशनलगायत पार्टीका आन्तरिक गतिविधि रोकेर विरोधका कार्यक्रममा केन्द्रित भएको छ । बिहीबारबाट रास्वपाको जिल्ला भेला सुरु भएको थियो । सभापति लामिछानेको पक्राउपछि तत्कालका लागि अधिवेशन स्थगित गरिएको रास्वपाले जनाएको छ । 

रास्वपाले शनिबार माइतीघर मण्डलाआसपासमा विरोध प्रदर्शन गरेको छ । प्रदर्शनपछि माइतीघरमा आयोजित कोणसभामा नेताहरूले नीलो क्रान्तिको सुरुवात भएको दाबी गरेका छन् । सरकारको कदम निन्दनीय र प्रतिशोधपूर्ण रहेको उनीहरूले बताएका छन् । रास्वपा कार्यकर्ताले माइतीघर मण्डलाबाट बिजुलीबजार हुँदै पुनः माइतीघर मण्डलासम्म ‍र्‍याली निकालेर विरोध प्रदर्शन गरेका थिए । रास्वपा सांसद तथा सहकारी छानबिन संसदीय समितिका सदस्य शिशिर खनालले राज्यले प्रतिशोधको रूपमा लामिछानेलाई पक्राउ गरेको बताए । 

रवि पक्राउको विरोधमा ऐक्यबद्धता जनाउन चितवनबाट समर्थकहरू पोखरा पुगेका छन् भने चितवनमा पनि प्रदर्शन भएको छ । शुक्रबारै चितवनका विभिन्न ठाउँबाट समर्थकहरू मुग्लिन पुगेका थिए । तीमध्ये एक सयभन्दा धेरै त्यतैबाट पोखरा गएका थिए । शनिबार थप डेढ सय मानिसहरू पोखरा गएको रास्वपा चितवनका युवा नेता विशाल कोइरालाले जानकारी दिए । शनिबार भरतपुरमा पनि प्रदर्शन भएको रास्वपा जिल्ला नेता प्रशान्तविक्रम सापकोटाले बताए । 

कञ्चनपुरको महेन्द्रनगर बजारमा भएको प्रदर्शनमा उपस्थितहरूले रविलाई नडराउन ढाडस दिएका छन् । कांग्रेस र एमालेकै नेताहरू मुछिएको सहकारी काण्ड, नक्कली भुटानी शरणार्थी काण्ड, प्रधानमन्त्री केपी ओली नै मुछिएको गिरीबन्धु टी इस्टेट काण्डलगायत सामसुम पार्न रविलाई पक्राउ गरिएको उनीहरूको आरोप छ । रास्वपा जिल्ला सभापति पदमबहादुर विष्टले सत्ताधारी पार्टीले राजनीतिक प्रतिशोध साँधेको भन्दै नीलो क्रान्तिको सुरुवात भएको बताए ।

रवि पक्राउको विरोधमा पर्साको वीरगन्जको घण्टाघरमा पनि प्रदर्शन भएको छ । भेला भएकाहरूले सरकार राजनीतिक प्रतिशोधमा उत्रिएर रविलाई पक्राउ गरेको आरोप लगाएका छन् । उनीहरूले प्रधानमन्त्री केपी ओलीविरुद्ध पनि प्रदर्शन गरे । ‘प्रतिशोधको राजनीति बन्द गर, नडराऊ रवि दाइ, जनता तिम्रो साथमा छ’जस्ता नारा लगाएका थिए । महोत्तरीको बर्दिवासमा पनि रवि पक्राउको विरोधमा पार्टी नेता–कार्यकर्ता तथा समर्थकहरूले प्रदर्शन गरेका छन् । 

लामिछानेलाई स्वास्थ्य परीक्षणपछि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ । प्रतिनिधिसभाले गठन गरेको सहकारी संस्था बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले दिएको प्रतिवेदनका आधारमा गोर्खा मिडियासँग जोडिएका उनलाई प्रहरीले शुक्रबार काठमाडौंबाट पक्राउ गरी सडकमार्ग हुँदै पोखरा ल्याइएको थियो । शनिबार बिदाका कारण अदालत बन्द भएपछि लामिछानेलाई म्याद थपका लागि आइतबार प्रहरीले कास्की जिल्ला अदातमा पेस गर्ने भएको छ । 

रवि लामिछाने पक्राउको संसद्लाई जानकारी, तत्काल निलम्बन नहुने
रास्वपा सांसद रवि लामिछाने पक्राउ परेको जानकारी सभामुख देवराज घिमिरेलाई गराइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सभामुखलाई त्यससम्बन्धी जानकारी लेखी पठाएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले शनिबार सूचना जारी गरी जानकारी गराएका हुन् । सूचनामा चितवन २ बाट निर्वाचित लामिछानेलाई कास्की जिल्ला अदालतको पक्राउ अनुमतिबमोजिम फौजदारी कसुरको अनुसन्धानका क्रममा पक्राउ गरिएको उल्लेख छ । संसद्लाई पक्राउको जानकारी दिए पनि उनको पद तत्काल निलम्बनमा पर्नेछैन । ‘तीन वर्ष वा सोभन्दा बढी कैद सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पुर्पक्षका लागि थुनामा रहेको अवधिभर सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुनेछैन,’ प्रतिनिधिसभा नियमावलीमा छ, ‘त्यस्तो अवधिभर निज निलम्बनमा रहने र पारिश्रमिक, सेवा–सुविधासमेत स्थगित हुनेछ ।’ फौजदारी अभियोगमा कुनै सदस्यलाई पक्राउ गर्न सभामुखको अनुमति लिनुपर्दैन ।

सुझावित समाचार