पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशको राजनीति र मौसम उस्तै भएको बताएका छन्।
शनिबार कञ्चनपुरको बेदकोट नगरपालिका- ८, स्थित बैजनाथ माध्यमिक विद्यालयमा नेपाल बुद्धिचाल महासंघ, काठमाडौं स्पोर्टस् एकेडेमी र बेदकोट नगरपालिका ८ नम्बर वडाको संयुक्त आयोजनामा सुरु भएको बुद्धिचाल प्रतियोगिताको उद्घाटन गर्दै नेपालले देशको राजनीति र मौसम उस्तै भएको बताएका हुन्।
‘बिहानको मौसम हेर्यो, घाम लाग्लाजस्तो हुन्छ, पानी पर्लाजस्तो भए चर्को घाम लाग्छ,' उनले भने, ‘नेपालको राजनीति पनि त्यस्तै छ, अब यो होला भन्यो, त्यो टिक्दैन, अर्को त जाला एक वर्ष भन्यो जाँदैन, टिक्ला कि क्या हो पाँच वर्ष भन्यो, टिक्दैन, मौसम परिर्वतन भएजस्तै देशको राजनीति परिर्वतन भइरहेको छ, त्यसको असर देशमा परिरहेको छ।’
राजनीतिक अस्थिरताले देशको विकासमा प्रभाव पारेको उनले बताए। पूर्वप्रधानमन्त्री नेपालले विचार गरेर मात्रै बोल्न र काम गर्न सरकारलाईआग्रह गरेका छन्।
पूर्वप्रधानमन्त्री नेपालले उपलब्ध स्रोतसाधनको सदुपयोग गर्दै धार्मिक पर्यटन वृद्धि विकासबाट अर्थतन्त्र बलियो बनाएर समृद्धिमा जोड दिएका छन्। उनले खेलकुद क्षेत्रको वृद्धि विकासका लागि तीनै सरकार गम्भीर हुनुपर्ने बताएका छन्।