इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा थुनुवामा रहेका एक व्यक्ति मृत अवस्थामा भेटिएका छन्। आपराधिक लाभ कसुर मुद्दामा यही कात्तिक १ गते पक्राउ परेका रत्ननगर नगरपालिका–१३ का ४५ वर्षीय महमद क्यामोदिन थुनुवा कक्षको बाथरुममा मृत अवस्थामा भेटिएका हुन्।
आज बिहान ४: ४५ बजे बाथरुमको ढोकाछेउमा घोप्टो परेको अवस्थामा भेटिएका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार उनलाई बिहान ६ बजे मृत घोषणा गरिएको हो।
क्यामोदिनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।