श्रीमतीलाई बाइकमा चढाएको बहानामा आफ्नै साथीको हत्या गरेको आरोपमा प्रहरीले एक अभियुक्तसहित घटनामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। गत साउन १४ गते राति पश्चिम नवलपरासीको पाल्ही नन्दन गाउँपालिका-५ निवासी रोशन भन्ने सूर्यकुमार बढईको हत्या भएको थियो। रोशनको शव उनी सुत्ने ओछ्यानमा बिहानपख मृत अवस्थामा फेला परेको थियो।
घटनाको साढे २ महिनापछि प्रहरीले हत्यामा संलग्न तीनजनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ। पक्राउ परेकामध्ये पाल्ही नन्दन गाउँपालिका-६ निवासी ३० वर्षीय जोगिन्दर बढईले आफ्नी श्रीमतीलाई रोशनले मोटरसाइकलमा राखेर आफन्तकोमा छोड्न गएको देखेपछि सोही घटनालाई लिएर रोशनको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक रेशम बोहाराले बताए।
प्रहरीले रोशनको हत्यामा सम्लग्न जोगिन्दर बढई सहित पश्चिम नवलपरासीको पाल्ही नन्दन गाउँपालिका-६ निवासी २० वर्षीय सुरज राजभर र अर्को एकजना १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ। प्रहरीले उनको नाम भने सार्वजनिक गरेको छैन।
यस्तो छ हत्याको कारण
गत साउन ११ गते जोगिन्दर बढईकी श्रीमतीलाई उनका साथी रोशन भन्ने सूर्यकुमार बढईले आफ्नो मोटरसाइकलमा राखेर आफन्तकोमा लैजान सहयोग गरेका थिए। श्रीमतीलाई अरूको बाइकमा चढेको देखेपछि जोगिन्दर र सूर्यबिच बाटोमै विवाद भएको थियो। विवादसँगै जोगिन्दरले रोशनसँग बदलाको भावना राखी हत्याको योजना बनाएका थिए।
हत्याको योजना बनाई साउन १३ गते बेलुका रोशनलाई भेट्न बोलाएका थिए। तर, रोशनले साथीहरू लिएर गएका कारण त्यस दिन जोगिन्दरले रोशनलाई केही गरेनन्। तर, साउन १४ गते बिहान ४ बजे रोशन सुतेकै ठाउँमा गएर जोगिन्दरले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरी नायव उपरीक्षक रेशम बोहाराले बताए।
घटनापश्चात् जोगिन्दर भारत भागेको र घटनामा सम्लग्न अन्य २ जना भने गाउँमै बसेका थिए। घटनामा प्रयोग गरिएको धारिलो हतियार सेफ्टी ट्यांकीमा लुकाई राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो।
जोगिन्दर घर फर्केर लुकीछिपी बस्दै आएको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरिएको र उनीसँगै घटनामा सम्लग्न अन्य दुईजनालाई पनि पक्राउ गरी घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।