सुदूरपश्चिममा पहिलोपटक राष्ट्रियस्तरको बुद्धिचाल प्रतियोगिता शनिबारदेखि सुरु हुँदै छ । कञ्चनपुरको बेदकोट नगरपालिका– ८, गैलनदी गाउँमा राष्ट्रियस्तरको बुद्धिचाल हुन लागेको आयोजकले जनाएको छ । नेपाल बुद्धिचाल महासंघ, काठमाडौं स्पोर्टस् एकेडेमी र बेदकोट नगरपालिका वडा नं ८ को संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो । एकेडेमीका अध्यक्ष तथा संयोजक नारायणदास गमालले एकैपटक प्रथम राष्ट्रिय ब्लिट्ज, दोस्रो राष्ट्रिय र्यापिड र तेस्रो नेकोस राष्ट्रव्यापी फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता हुन लागेको जानकारी दिएका छन् ।
‘तेस्रो नोकोस क्लासिकल खेल ६० मिनेट, प्लस ३० सेकेन्ड प्रतिचालको ९ राउन्ड हुनेछ,’ गमालले भने, ‘र्यापिड स्विस लिगअनुसार १५ मिनेट प्लस १० सेकेन्ड प्रतिचालको ९ राउन्ड र ब्लिट्ज स्विस लिगकै ३ मिनेट प्लस २ सेकेन्ट प्रतिचालको ९ राउन्डमा हुनेछ ।’ ब्लिट्जतर्फका विजेताले २५ हजार रुपैयाँ हात पार्नेछन् । दोस्रो राष्ट्रिय र्यापिडका विजेताले ३० हजार र तेस्रो नेकोसका च्याम्पियनले ६० हजार रुपैयाँ हात पार्नेछन् । समग्रमा ६५ खेलाडीलाई चार लाख ७० हजार रुपैयाँ विजेता धनराशि रहेको छ ।
एक खेलाडी तीन विधामै
एकै खेलाडीले तीनवटै विधाका प्रतियोगितामा सहभागिता हुन पाउनेछन् । महिलातर्फ १० जना राष्ट्रिय खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । गत संस्करणको राष्ट्रिय र्यापिड च्याम्पियनसिपका शीर्ष तीन खेलाडी र एकजना शीर्ष महिलाले पनि भाग लिने आयोजकले जनाएको छ । महासंघका अध्यक्ष गमालले व्यावसायिक खेलकुदको अवधारणाअनुसार बुद्धिचाललाई विकेन्द्रीकृत बनाउन लागेको बताए । बेदकोट नगरपालिका– ८ का वडाध्यक्ष महेशराज जोशीले गण्डकीपछि पहिलोपटक प्रतियोगिता आयोजना गर्न लागेको बताए ।
‘हाम्रो वडा जिल्ला सदरमुकामभन्दा नजिकै छ, तर विकासका हिसाबले अभावै–अभाव छ,’ उनले भने, ‘बुद्धिचालबाट वडाको विकासका साथै यस क्षेत्रकै खेलकुदप्रति आकर्षण हुने विश्वास छ ।’ सुदूरपश्चिमका पूर्वसामाजिक विकामन्त्री लालबहादुर खड्काले बुद्धिचालबाट प्रदेशको खेलकुद विकासमा टेवा पुग्ने बताए ।