पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल)का लागि अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ । उनी एनपिएलमा आबद्ध हुने पहिलो विदेशी खेलाडी बने । एनपिएल १५ मंसिरबाट ६ पुससम्म हुँदै छ । त्यसका लागि पोखराले ३० वर्षीय खेलाडी अनुबन्ध गरेको जनाएको छ । दायाँहाते ब्याटरले उमेर समूहमा दक्षिण अफ्रिकाका लागि खेलेका थिए ।
उनले अमेरिकाबाट २० अन्तर्राष्ट्रिय खेलमा ५९८ रन बनाएका छन् । अमेरिकाबाट तीन एकदिवसीय खेल्दा १५२ रन बनाएका छन् । सन् २०२४ मा क्यानडाविरुद्ध डेब्यु गर्दै अमेरिकाको प्रतिनिधित्व गरेका थिए । पोखरा एभेन्जर्सका मालिक सुबोध त्रिपाठीले गौसलाई उच्च प्रदर्शनका लागि शुभकामना दिएका छन् । पहिलोपटक नेपालमा लिग खेल्न लागेका गौसले उत्साहित रहेको बताए ।
यसअघि टोलीले इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किंग्सको प्रतिनिधित्व गरिसकेका राजीव कुमारलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । उनी चेन्नई सुपर किंग्सका ब्याटिङ र फिल्डिङ प्रशिक्षक हुन् । पोखराको मार्कीमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल रहेका छन् ।