लेबनानमा शान्ति सेनामाथि भएको इजरायली आक्रमणको नेपालद्वारा निन्दा

मंगलबार, २९ असोज, २०८१
डिजिटल संस्करण

नेपालले शान्ति सैनिकमाथि लेबनानमा भएको इजरायली आक्रमणको कडा निन्दा गरेको छ। नेपालसहित राष्ट्रसंघीय शान्ति मिसनमा संलग्न ३४ देशले संयुक्त विज्ञप्ति जारी गर्दै इजरायली सेनाबाट भएको आक्रमणको निन्दा गरेका हुन्।

मंगलबार सामाजिक सञ्जाल एक्समार्फत नेपालको परराष्ट्र मन्त्रालयले शान्ति मिसनमा खटिने सैनिकहरूमाथि इजरायली पक्षले गरेको आक्रमणको कडा निन्दा गर्दै शान्ति स्थापनामा खटिने सैनिकको सुरक्षाको प्रत्याभूति दिलाउन द्वन्द्वरत दुवै पक्षसँग आग्रह गरेको छ।

यसैगरी, हिंसा र आक्रमणको शृंखला तुरुन्त रोकी उक्त घटनाको विस्तृत छानबिनसहित सुरक्षाको प्रत्याभूति दिलाउनसमेत सम्बद्ध पक्षसँग नेपालले आग्रह गरेको छ।

दक्षिणी लेबनानस्थित शान्ति मिसनको आधार शिविरभित्र प्रवेश गरी इजरायली सेनाले गरेको हिजबुल्लाहालक्षित आक्रमणमा परी ६ जना शान्ति सैनिक घाइते भएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

यसैबिच, इजरायलले शान्ति सेना हटाउन अनुरोध गरेकामा संयुक्त राष्ट्रसंघले नहटाउने निर्णय गरेकोसमेत जनाइएको छ।
 
संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा उल्लेख्य संख्यामा सेना खटाई विश्व शान्ति स्थापना अभियानमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको नेपालले संयुक्त राष्ट्रसंघको अनुरोधमा द्वन्द्वग्रस्त मुलुक लेबनानमा पनि आफ्नो सेना खटाएको छ।

इजरायली आक्रमणको निन्दा गर्दै संयुक्त हस्ताक्षर गर्ने देशहरूका तर्फबाट संघर्षरत दुवै पक्षलाई युद्धमा अन्तर्राष्ट्रिय कानुन पालना गर्न र शान्ति सुव्यवस्था, अमनचैन कायम राख्न आह्वान गरिएको छ।

यसरी हस्ताक्षर गर्ने देशहरूमा नेपालसहित चीन, फ्रान्स, संयुक्त अधिराज्य बेलायत, बंगलादेश, श्रीलंका, अर्मेनिया, ब्राजिल, अस्ट्रिया, कम्बोडिया, साइप्रस, एलसाल्भाडोर, इस्टोनिया, फिजी, फिनल्यान्ड, घाना, ग्वाटेमाला, हंगेरी, इन्डोनेसिया, इटाली, कजाकिस्तान, कोरिया, लातभिया, मलेसिया, माल्टा, मंगोलिया, नेदरल्यान्ड, पोल्यान्ड, कतार, सियरालियोन, स्पेन रहेका छन्। रासस

सुझावित समाचार