आज बडादसैँको टीकाको दिन । गाउँलेहरू हर्षोल्लासका साथ दसैँ मनाइरहेका वेला यहाँको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु– ३ ब्रह्मस्थानस्थित बोटेटोलका गुरुङदम्पतीको आँखा भने आँगन तेर्सो आउने बाटो हेर्दै बितिरहेको छ ।
स्थानीय नन्दे र राजकुमारी गुरुङका जेठा छोरा उत्तम गत साउन २३ गते साँझ घरबाट निस्किएपछि अहिलेसम्म फर्किएका छैनन् । छोरा बेपत्ता भएपछि गुरुङदम्पतीको घर सुनसान छ । विगत तीन वर्षदेखि मिर्गौलाको डायलाइसिस गराइरहेकी उत्तमकी ५० वर्षीया आमा राजकुमारी गुरुङ छोराको चिन्ताले झनै थलिएकी छिन् । ‘घरबाट केही नभनी निस्किएको छोराको अवस्था थाहा छैन,’ गहभरि आँसु पार्दै राजकुमारीले भनिन्, ‘कहाँ गएको हो, आफन्त गाउँलेहरू मिलेर धेरै ठाउँमा खोज्नुभयो । तर, छोराबारे केही थाहा पाउन सकिएन ।’
जेठा छोरा बेपत्ता भएपछि दसैँ खल्लो भएको छ। दसैँ मनाउने उत्साह नभएको उनले बताइन्। ‘हिँड्ने वेलामा मोबाइल यहीँ छोडेर हिँडेको रै’छ,’ उनले भनिन्, ‘गाउँमा कतै गयो होला भनेर सोचेका थियौँ। एक दिन, दुई दिन गर्दै यत्रो दिन बित्यो छोरा घर फर्किएन।’ छोरा जहाँ जस्तोसुकै अवस्थामा भए पनि चाँडो घर फर्किन उनले बिन्ती गरिन्।
उत्तमका ५८ वर्षीय बाबु नन्दे गुरुङलाई छोराले किन घर छाडेर हिँड्यो भन्ने पनि थाहा छैन। ‘हामी बाउछोरा भएर तरकारीखेती, कुखुरापालन तथा बाख्रा व्यावसायिक रूपमा पाल्दै आएका थियौँ,’उनले भने, ‘दिनभरि सँगै काम गरेका थियौँ, त्यस्तो नराम्रो केही भएको पनि थिएन, बेलुकी घरबाट बाहिर निस्केको छोरा अझै फर्किएन ।’ छोराको खोजी गर्न धेरै ठाउँ पुगेको र प्रहरी, संघसंस्थासँग गुहार माग्दासमेत नभेटिएको गुरुङको भनाइ छ ।
नन्देका बाबुछोरा नै वैदेशिक रोजगारका लागि पाँच वर्ष दुबईमा बसेर स्वदेश फर्किएपछि व्यावसायिक पशुपालन गर्दै आएका थिए । पत्नी बिरामी आएपछि वैदेशिक रोजगारी छोडेर दुवै जना फर्किएका थिए । ‘घरको हरेक कामकाजमा सघाउँदै आएको जेठो छोरो बेपत्ता भएपछि कुन खुसीले दसैँ मनाउनु खै,’ मलीन मुद्रामा नन्देले भने, ‘अझै पनि छोरा आउँछ कि भनेर बाटो हेर्दैमा दिनरात कटाउने गरेका छौँ ।’ छोरा घर फर्किएमा सबै खुसी फिर्ता आउने र चाडपर्व रमाइलो हुने आशा गुरुङदम्पतीको मनमा अझै छ ।