सर्वसाधारणले नेपाल राष्ट्र बैंकका काउन्टरबाट ९४ करोड रुपैयाँका सुकिला नोट साटेका छन् । यो केन्द्रीय बैंकले १३ असोजदेखि २० असोजसम्म देशभरका काउन्टरबाट गरेको सटहीको तथ्यांक हो । यसमा बैंक तथा वित्तीय संस्थाबाट गरिएको सटहीको तथ्यांक समावेश छैन । हरेक वर्ष दसैँकेन्द्रित गरेर नयाँ नोटको सटही गर्दै आएको केन्द्रीय बैंकले यो वर्ष सुकिला नोट मात्रै सटही गर्ने व्यवस्था गरेको हो ।
पछिल्लो समय डिजिटल कारोबारको प्रचलन बढ्दै गइरहेकाले नोट साट्ने प्रचलनमा कमी आएको केन्द्रीय बैंकका अधिकारीहरू बताउँछन् । केन्द्रीय बैंकका सहायक प्रवक्ता डिल्लीराम पोखरेलले गत वर्ष दैनिक एक हजारजनाभन्दा बढी नोट सटहीको लाम लाग्ने गरेकोमा यसपालि दैनिक पाँच सयजनाभन्दा कमको संख्यामा नोट सटही सुविधा लिन आउने गरेको पाइएको बताए । उनले भने, ‘दैनिक दुई–तीन सयजनाले सटहीको सुविधा लिइरहेका छन् । सहभागी निकै कम भइरहेको पाइएको छ ।’
डिजिटल कारोबारको प्रयोग बढ्दै गइरहेकाले नोट सटही लिनेको संख्यामा कमी आएको उनको बुझाइ छ । उनले भने, ‘नयाँ नोट छाप्दा लाग्ने खर्चको व्यवस्थापन गर्न र सुकिला नोटको व्यवस्थापन गर्न हामीले यसपटक नयाँ नोट बजारमा नपठाउने निर्णय गरेका हौँ ।’
गत साल दसैँमा नयाँ र सुकिला गरेर सर्वसाधारणले ५५ अर्बको नोट सटही गरेको केन्द्रीय बैंकले जनाएको थियो । यो राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाबाट बाहिरिएको रकम हो । त्यस्तै, अघिल्लो दसैँमा त २२ अर्ब हाराहारीमा नोट सटही गरिएको थियो ।
गत वर्ष ५५ अर्बको नोट सटही भएको थियो, तर यसपालि नयाँ नोट नभएकाले सर्वसाधारणले कम इच्छा देखाएका छन्
गत वर्षजस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँका दरले केन्द्रीय बैंकले सर्वसाधारणलाई सुकिला नोट सटही सुविधा दिएको छ । १८ हजार ५०० रुपैयाँ भनेको ५ देखि १०० रुपैयाँसम्मको एक/एक बन्डल हो ।यस वर्ष नयाँ नोट लिन आउने सर्वसाधारणले राष्ट्र बैंकको क्युआर कोड सुविधामार्फत भुक्तानी गरिरहेका छन् । डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्भव भएसम्म धेरैभन्दा धेरै भुक्तानी क्युआरमार्फत गर्न आग्रह गरेको सहायक प्रवक्ता पोखरेलले जनाए । केन्द्रीय बैंकले आफ्ना कार्यालयमार्फत सर्वसाधारण र बैंक तथा वित्तीय संस्थालाई वर्षभर नै नयाँ नोट वितरण गरिरहेको हुन्छ । यद्यपि दसैँ, तिहार र छठका लागि सर्वसाधारणबाट नयाँ नोटको माग धेरै आउने भन्दै त्यसलाई नियमित कार्यक्रमसरह मानेर वितरण गर्दै आएको छ ।
केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयहरू (विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी) बाट सुकिला नोट सटहीको सुविधा दिइरहेको छ ।नेपालमा वि.सं. २००२ को १ असोजबाट तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरको पालामा नोटको प्रचलन सुरु भएको मानिन्छ । सरकारी कारोबारमा भारतीय नोटको प्रचलन बढी रहेकोमा वि.सं. २०१७ मा पूर्ण रूपमा नेपाली मुद्रा चलाउने व्यवस्था गरिएको हो ।
चाडबाडमा नेपाल राष्ट्र बैंकले नयाँ नोट साटेर दिने गरेपछि यसको सम्बन्ध चाडपर्वसँग जोडिँदै गयो । तर, पछिल्लो समय नोटको प्रचलन घट्दै गएको र डिजिटल कारोबारले वर्चस्व बढाउँदै लगेपछि केन्द्रीय बैंकले नयाँ नोटको छपाइ नै कम गर्दै लगिरहेको छ ।
नोटको प्रचलनलाई डिजिटल कारोबारले विस्थापित गर्न केन्द्रीय बैंकले सोमबारदेखि दसैँ, तिहार र छठपर्वको अवधिका लागि वालेटको कारोबार सीमा खुकुलो बनाइदिएको छ । इसेवा, खल्तीजस्ता डिजिटल वालेटमार्फत दक्षिणा दिने प्रवृत्ति मौलाएपछि केन्द्रीय बैंकले पनि भुक्तानी सेवा प्रदायकलाई प्राथमिकता दिँदै आइरहेको छ । यसअघि दैनिक १० पटकसम्मका लागि कारोबार गर्न पाइने गरिएकोमा अब दैनिक ३० पटकसम्म कारोबार गर्न पाइनेछ ।
दसैँका लागि २१ असोजदेखि १ कात्तिक (कोजाग्रत पूर्णिमाको दिन) सम्म लागू हुने केन्द्रीय बैंकले जनाएको छ । त्यस्तै, १५ कात्तिकदेखि २२ कात्तिकसम्मका लागि वालेटमा एक दिनमा बढीमा ३० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गरेको उल्लेख छ ।
केन्द्रीय बैंकको तथ्यांकअनुसार ०८० को असार मसान्तसम्ममा तीन अर्ब २५ करोड ३० लाख ८७ हजार ५२८ थान नोट चलनचल्तीमा थिए । जसको मूल्य ६ खर्ब ४० अर्ब हुन आउँछ । केन्द्रीय बैंकसँग स्टकमा दुई खर्ब १६ अर्ब ५४ करोड ९२ लाख रुपैयाँका नोट स्टकमा थिए । ०७९ असारको तुलनामा ०८० असारमा स्टक नोट ४.६४ प्रतिशतले घटेको थियो ।