स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपत् प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सामग्री प्राप्त नभए मन्त्रालयलाई खबर गर्न आग्रह गरेका छन्।
विपत् प्रभावित क्षेत्रका नागरिकलाई सम्बोधन गर्दै मन्त्री पौडेलले पानीको शुद्धीकरण, व्यक्तिगत सफाइ तथा स्वास्थ्य उपचारका लागि आवश्यक सामग्री मन्त्रालयले पठाइसकेको बताए।
‘अहिले विपतपछि पानीका स्रोतमा हुने प्रदूषण र फोहोरका कारण झाडापखाला, हैजा वा लामखुट्टेको टोकाइबाट डेंगु र जापानिज इन्सेफलाइटिसजस्ता संक्रमणको सिकार तपाईं हुन नपरोस् भनेर हामीले सचेतना र आवश्यक शुद्धीकरण तथा सरसफाइका सामग्री विपत् प्रभावित क्षेत्रलाई प्राथमिकता दिएर पठाएका छौँ,’ मन्त्री पौडेलले भने।
आवश्यक स्वास्थ्य सामग्री नपुगेमा स्थानीय स्वास्थ्य संस्था वा मन्त्रालयको आपतकालीन सहायता नम्बर १११५ मा सम्पर्क गर्न मन्त्री पौडेलले आग्रह गरेका छन्। देश प्राकृतिक विपतकाे चपेटामा परेका कारण नागरिकले अझै पनि कष्ट भोगिरहनुपरेको र बाढीका कारण स्वास्थ्य समस्या देखिए झन् चुनौती थपिने भन्दै सजग रहन मन्त्रालयले पहल गरिरहेको उनको भनाइ छ।
‘हामीले विपतका समयमा घाइतेहरूको निःशुल्क उपचारको प्रयत्न गर्याैँ। तर, अब हामीले यत्तिकैमा सन्तोष मानेका छैनौँ। नागरिकको स्वास्थ्य रक्षाका लागि आवश्यक हरेक प्रयत्नहरूमा हामी तपाईंको साथमा छौँ,’ उनले भने।
यसबाहेक, तीनै तहका सरकारको सहकार्यमा सकेसम्म स्वस्थ पिउने पानी उपलब्ध गराउने प्रयत्न भइरहेको बताउँदै उनले कतिपय स्थानमा तत्काल विकल्प प्राप्त नहुँदासम्म र संक्रामक रोगबाट जोगिन पानी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउन अनुरोध गरेका छन्।