जाजरकोटको जुनीचाँदे गाउँपालिकाका मानबहादुर नेपाली करिब चार वर्ष पहिले रोजगारीका लागि भारत गएका थिए। उनी रोजगारीका लागि सपरिवार भारतको कालापहाड पुगेका थिए। उनीजस्तै सोही गाउँका प्रेम कसारे पनि बुढा आमाबुबा छाडेर वर्षभरिको खर्च जोहो गर्न भारत पलायन भएका थिए।
गाउँका अधिकांश मानिस रोजगारीका लागि विदेश गएपछि जुनीचाँदेका अधिकांश घरमा बुढाबुढी मात्रै छन्। तर, गाउँको खुसी दसैँसँगै फर्किएको छ। गाउँमा परदेशी भित्रिएपछि खुसी पनि फर्केको छ। घरहरू लिपपोत गरेर चिटिक्क बनाइएको छ। झार उम्रेका घरआँगनसमेत सरसफाइ गरेर चिटिक्क परेका छन्।
मंगलबारसम्म नाै हजार ७२ जना जिल्ला भित्रिएका जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। प्रहरीका अनुसार जिल्लाका चारवटा नाकाबाट सो संख्यामा मानिस भित्रिएका हुन्।
प्रमुख नाकाको रूपमा रहेको छेडाचौरबाट ६ हजार ७६४ जना भित्रिएका जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम भण्डारीले बताए। जसमध्ये चार हजार ३१ पुरुष, दुई हजार १०३ महिला र ६३० बालबालिका रहेका छन्।
यस्तै, सुयाडा नाकाबाट २५८ पुरुष, १४७ महिला र २०७ बालबालिका गरी ६१२ जना भित्रिएका छन्। रग्दाबाट एक हजार ३३६ जना जिल्ला भित्रिएकोमा ६२५ जना पुरुष, ४१० महिला र ३०१ बालबालिका रहेकाे प्रहरीले जनाएको छ। पाँच काटिया नाकाबाट कुल ३६० जना भित्रिएका छन्।
यसैगरी, दुई हजार ९०९ जना जाजरकोटबाट बाहिरिएका छन्। प्रहरीका अनुसार एक हजार ७२१ पुरुष, ९२२ महिला र २६६ बालबालिका जिल्लाबाट बाहिरिएका छन्।