चीनसँगको व्यापारिक नाका तातोपानी र रसुवागढी टिम्बुरे क्षेत्रमा गत ११ र १२ गतेको बाढीपहिरोले बितन्डा मच्चाएपछि नेपालका लागि सामग्री बोकेर आएका चिनियाँ कन्टेनर बिचबाटोबाटै फर्किएका छन् । दसैँ र जाडो यामका लागि ल्याइएका फलफूल तथा रेडिमेड सामान ल्हासा, सिँगात्से, मिम्बु, न्यालम, केरुङ, रिकार्चे र तिङ्रीमा गोदाम गरेर चिनियाँ कन्टेनर फर्किएका हुन् । चिस्यानको सुविधा भएका कतिपय कन्टेनर महँगो पार्किङ भाडा तिरेर केरुङ, न्यालम र सिँगात्सेमा राखिएका छन् । तर, फलफूल र रेडिमेड बोकेका करिब तीन सय चिनियाँ कन्टेनर गन्तव्यमा नआई बिचबाटोबाटै फर्किएका हुन् ।
चीनको व्यापारिक सहर ग्वाङझाओ र इयूबाट रेडिमेड सामान आउँछ । सान्दुङ र गान्सु प्रोभिन्सबाट फलफूल र तरकारीजन्य सामान आयात गरिन्छ । केरुङ र खासामा लामो समयदेखि फलफूलजन्य सामानको व्यापार गर्दै आएका नेपाल हिमालय सीमापार वाणिज्य संघका सदस्य शारदाप्रसाद पराजुलीका अनुसार चिनियाँ भन्सार तिरेर नेपालतर्फ आउन लागेका करिब ७० नेपाली कन्टेनरबराबर फलफूल तथा तरकारी कुहिने अवस्थामा पुगेको छ ।
खासाभन्दा तल मितेरीपुलसम्म ५४ र रसुवागढीपारि चिनियाँ क्षेत्रमा १७ कन्टेनर सामान कुहिने अवस्थामा पुगेको छ । ती कन्टेनरमा स्याउ, लसुन, अंगुर , आँप, अदुवा र किबी छन् । एक कन्टेनर स्याउको मूल्य २० लाख रुपैयाँबराबर पर्छ । बाढीपहिरोपछि राज्यले सडक निर्माणमा चासो नदिँदा नेपाली व्यापारीले ठुलो नोक्सान व्यहोर्नुपरेको उनले बताए । ‘बाढीपहिरो गएको एक साता बित्यो । तर, राज्यले सडक खुलाउन केही चासो दिएन,’ उनले भने, ‘अझै सडक सुचारु हुने कुनै टुंगो छैन ।’
रेडिमेड बोकेका करिब चार सय चिनियाँ कन्टेनर गोदाममा सामान झारेर फर्किएका छन् । सडक खुला हुँदा चिनियाँ कन्टेनरले दुवै नाकाको मितेरीपुलसम्म सामान ल्याइदिन्थे । तातोपानीतर्फ चिनियाँ कन्टेनरले मितेरीपुलबाट पाँच किलोमिटर वर लार्चास्थित सुक्खा बन्दरगाहमा ल्याएर पल्टी गर्थे ।
केरुङबाट रसुवागढी आउनेतर्फ सडक खुल्न कम्तीमा १५ दिन लाग्ने बताइएको छ । यता तातोपानीतर्फ पनि अझै केही दिन लाग्छ । स्थानीय व्यापारी, जनप्रतिनिधि र सडक डिभिजनसमेतको सहयोगमा लार्चास्थित भोटेकोशी नदीमा ह्युमपाइप राखेर बाटो निर्माण गरिएको छ । ह्युमपाइपले वडा नं ३ र ४ लाई जोडेको छ । यद्यपि, तातोपानीमाथि खोप्लाङ र कोदारीमा पहिरोले सडक तहसनहस पारेको छ । उता लिपिङ खोलामा पुल छैन ।
तातोपानीदेखि मितेरीपुलसम्मको सडक बन्न कम्तीमा तीन दिन लाग्ने तातोपानी भन्सारका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले जानकारी दिए । दसैँ अवधिमै भए पनि सडक खुलाएर फलफूल आयात गर्ने भन्सारको योजना रहेको उनले प्रस्ट्याए । भन्सार यार्डमा जाँचपास भएका सबै कन्टेनर जोखिमपूर्ण कोदारी सडकबाट राजधानी काठमाडौं आएका छन् । काफ्लेले बताएअनुसार तातोपानीदेखि मितेरीपुलसम्म सात कन्टेनर फलफूल अलपत्र रहेका छन् ।
व्यापारी र स्थानीय जनप्रतिनिधि मिलेर भोटेकोशीमा ह्युमपाइप राखे पनि ठुलो परिमाणका सामग्री बोकेका ४० फिटे चिनियाँ तथा २० फिटे नेपाली कन्टेनरको भार बहन गर्न सक्छ कि सक्दैन, परीक्षण गर्न बाँकी रहेको काफ्लेले बताए । सीमामा आइपुगेका फलफूल तथा लत्ताकपडा अब दसैँअघि सबै आयात हुन नसक्ने काफ्लेले प्रस्ट्याए ।