पोखरामा तेस्रो क्रसकन्ट्री दौड हुने

चार विधामा नेपाल र चीनका एक हजार खेलाडीले प्रतिस्पर्धा गर्ने

बुधबार, २३ असोज, २०८१
डिजिटल संस्करण

तेस्रो संस्करणको पोखरा अन्तराष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगिता हुने भएको छ । हिमालयन टुरिजम फोरमको आयोजनामा हुने दौड २४ कात्तिकमा हुनेछ । खेलकुदका माध्यमबाट नेपाल र चीनबिचको पर्यटन र मित्रतालाई सुदृढ बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले जनाएको छ । प्रतियोगिता कार्यान्वयनको नेतृत्व हिमालयन टुरिजम फोरम पोखरासँगै चीनको युन्नान माउन्टेनियरिङ एन्ड आउटडोर स्पोर्टस् एसोसिएसनले गर्ने प्रतियोगिताका मिडिया संयोजक प्रतीकराज पहारीले बताए । 

प्रतियोगितामा सहभागी हुन आउने चिनियाँहरूले कुनमिङबाट पोखरा विमान चार्टर गरेर आउनेछन् । गत वर्ष सहभागी भएका एक सय चार सदस्यीय चिनियाँ टोली विमान चार्टर्ड गरी पोखरा आएको थियो । नेपाल–चीन मैत्री संघका अध्यक्ष विश्वशंकर पालिखेले प्रतियोगितामा टिम, इन्डिभिजुअल, विद्यार्थी र ह्याप्पी रन गरी चार विधामा प्रतिस्पर्धा हुने जानकारी दिए । टिम विधामा ९० खेलाडीले भाग लिनेछन् । जसमा १० चिनियाँ र २० नेपाली टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

  विजेताले चार लाख ५८ हजार पाउने
एक टोलीमा तीन–तीनजना खेलाडी रहनेछन् । खेलाडीहरूले ५० किलोमिटरको दूरीमा ट्रेल रनिङ, साइक्लिङ र रोइङ गर्नु पर्नेछ । दौडका क्रममा खेलाडीले दुई हजार २५८ मिटर उचाइ पार गर्नेछन् । विजेताले चार लाख ५८ हजार चार सय रुपैयाँ पाउनेछन् । उपविजेताले तीन लाख ४३ हजार आठ सय र तेस्रोले दुई लाख २९ हजार दुई सय रुपैयाँ पाउनेछन् । एक सय २० नेपाली र ८० चिनियाँ गरी दुई सयजना खेलाडी सहभागी हुने च्यालेन्ज इन्डिभिजुअल विधामा ५० किलोमिटरको ट्रेलमा खेलाडीले दुई हजार तीन सय ६६ मिटरको उचाइ पार गर्नेछन् । महिला र पुरुषका विजेताले जनही एक लाख ५२ हजार आठ सय रुपैयाँ जित्नेछन् । 

उपविजेताले एक लाख १४ हजार ६ सय र तेस्रोले ७८ हजार चार सय रुपैयाँ हात पार्नेछन् । ४ सय ८० नेपाली र २० जना चिनियाँ छात्रछात्रा गरी पाँच सयजनाले सहभागिता जनाउने १८ वर्षमुनिको पाँच किमिको विद्यार्थी दौडका विजेताले ३० हजार, दोस्रोले २५ हजार र तेस्रोले २० हजार रुपैयाँ हात पार्नेछन् । आमनागरिकका लागि आयोजना हुने ह्याप्पी रनको दूरी पाँच किलोमिटर छ । 

सुझावित समाचार