जित्ने पक्का ठानिएको हरियाणा कंग्रेसले कसरी गुमायो ?

भाजपाको चुनावी मेसिनरीले कंग्रेसको मुखमा पुगेको भनिएको जित खोसेको छ

बुधबार, २३ असोज, २०८१
डिजिटल संस्करण

अक्टोबर ५ मा भएको हरियाना विधानसभाको निर्वाचनको मतगणना अक्टोबर ८ मा हुने पहिले नै तोकिएको थियो । पूर्वनिर्धारित तालिका अनुसार अक्टोबर ८ को दिन मतगणना सुरु भएपछिको एक घन्टापछि जारी प्रारम्भिक परिणाममा कंग्रेस भाजपाभन्दा धेरै अगाडि देखिएको थियो । एक्जिट पोलले समेत कंग्रेसले जित्ने प्रक्षेपण गरेकाले त्यसलाई स्वाभाविक ठान्दै कंग्रेसजनले उत्सव मनाउन सुरु गरे । दिल्लीस्थित केन्द्रीय कंग्रेस मुख्यालयमा ढोलबाजा बज्न थालिसकेको थियो । उता भाजपाको केन्द्रीय कार्यालय भने त्यो समय सुनसान देखिन्थ्यो ।

तर, एक घण्टापछि अर्थात् १० बज्दासम्म पासा पल्टिएर खेल भाजपाको पक्षमा फर्कियो । त्यसको थप दुई घण्टापछि भाजपाको अग्रता बलियो बन्दै जाँदा पार्टी हरियाणामा जिततर्फ अग्रसर भएको देखियो । मतपरिणाम एक्जिट पोलले संकेत गरेभन्दा बिल्कुल फरक आएको थियो । त्यसपछि उत्सवको माहोल बिजेपीको मुख्यालयमा सर्यो । भाजपाको केन्द्रीय मुख्यालयमा लड्ड्, जलेबी बाँड्न थालियो । ढोलक बज्न थाल्यो । कंग्रेसले नेताहरूले प्रारम्भमा देखिएको मतपरिणाम पुनः फर्किने आशा जीवित राखिरहेका थिए । तर, स्थिति तिनले चाहेजस्तो भएन । आखिर कंग्रेसले किन जित्ने भनेर ठानिएको विधानसभा चुनावमा पराजय भोग्यो त ? यसमा निम्न पाँच पक्षको मुख्य भूमिका देखिन्छ :

 कंग्रेसभित्रको अन्तरपार्टी संघर्षको प्रभाव 
सन् २०१९ को विधानसभा चुनावमा कंग्रेसले ३१ सिट जितेको थियो । उसले हाल ६ सिट बढी जित्दा इन्कुम्बेन्सीको लहर भोगेको भनिएको भाजपाले पाँच वर्षअघिको भन्दा आठ सिट बढी जितेको छ । यस कमजोर प्रदर्शनमा पार्टीको आन्तरिक संघर्ष र शीर्ष नेताबिच सत्ताका लागि कलह मुख्य कारण रह्यो । चुनावअघि नै कंग्रेस नेताहरू जितमा यति ढुक्क भए कि उनीहरू को भावी मुख्य मुख्यमन्त्री बन्ने भन्ने प्रतिस्पर्धामा केन्द्रित भए । कंग्रेसका दिग्गज नेता भूपिन्दर सिंह हुड्डा र वरिष्ठ नेता कुमारी सेलजाबिचको झगडा त सार्वजनिक नै भयो । 

 क्षेत्रीय दल र स्वतन्त्र उम्मेदवारले काटे मत
लोकप्रिय मतमा कंग्रेस भाजपाभन्दा थोरै अघि देखिन्छ । तर, उसले यस रुझानलाई सिटमा रुपान्तरण गर्न नसकेको मतपरिणामले देखाउँछ । कंग्रेसले हारेका धेरै सिटमा हारको फरक एकदम कम छ । यसको अर्थ हो, हरियाणामा भाजपाविरुद्ध देखिएको जनमत कंग्रेसलाई नगएर क्षेत्रीय दल र स्वतन्त्र उम्मेदवारले पाए । 

 जाटविरोधी मतको एकीकरण
यस चुनावमा हुड्डाको नेतृत्वमा कंग्रेसले जाट मतमा ध्यान केन्द्रित गरेको थियो । तर, त्यस रणनीतिले ब्याकफायर गरेकोजस्तो देखिन्छ । मतपरिणामले गैरजाट मत भाजपाको पक्षमा एकीकृत भएको देखाएको छ । कंग्रेसले जितेको भए राज्यमा प्रभावशाली समुदायको प्रभाव पुनः फिर्ता हुने संकेत गरेको थियो । तर, अन्य समुदायले प्रभावशाली समुदायको प्रभाव कम गर्न अभियानका रूपमा मिलेर त्यसको विपक्षमा देखिएको सत्तारुढ दललाई सत्ता टिकाए ।

 भाजपाको पर्दापछाडिको कसरत
एक्जिट पोलले हरियाणामा बिजेपीको हार निश्चित भएको देखाएका थिए । तर, हारको भविष्यवाणी भएपछि भाजपाले मैदानमा आफ्नो कामलाई मौन रूपमा बढायो । फलस्वरूप मतपरिणाम सत्तारुढ दलको पक्षमा देखियो । भाजपाले हार्ने भविष्यवाणी गरिएको चुनावको तयारी गर्न केन्द्रीय मन्त्री तथा नेता धर्मेन्द्र प्रधानलाई जिम्मेवारी दिइएको थियो । मतपरिणामपछि उनले आफूलाई सफल साबित गरेको पुष्टि हुन्छ । भाजपाको चुनावी मेसिनरीले कंग्रेसको मुखमा पुगेको भनिएको जित खोसेको छ । 

 सहरी क्षेत्रमा भाजपाको पकड
विगत एक दशकमा भाजपाले हरियाणाका सहरी क्षेत्र, जस्तै– गुडगाउँ र फरिदाबादमा पकड बलियो बनाएको छ । कंग्रेसले ग्रामीण क्षेत्रमा विजय हासिल गर्ने अपेक्षा गरेको थियो । तर त्यो सोचेअनुरूप हुन सकेको देखिएन । तर, भाजपाले आफ्नो गढ ठानेका गुडगाउँ, फरिदाबाद र बल्लभगढमा भने अग्रता हासिल गर्यो ।

जम्मु–कस्मिरमा एक दशकपछि प्रादेशिक सरकार गठन हुने
भारत प्रशासित कस्मिरमा एक दशकपछि (सन् २०१४पछि) पहिलोपटक नयाँ प्रादेशिक सरकार पाउने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले सन् २०१९ अगस्ट ५ मा संविधानको धारा ३७० खारेज गर्दै जम्मु–कस्मिरको विशेष दर्जा हटाएर र सो राज्यलाई दुई केन्द्र शासित प्रदेश (युनियन टेरिटोरी)मा विभाजित गरेको थियो । त्यसवेलादेखि एक करोड २० लाख जनसंख्या रहेको यस मुस्लिम बहुल क्षेत्रमा निर्वाचित क्षेत्रीय सरकार छैन, यसलाई केन्द्र सरकारले नियुक्त गरेको गभर्नरले शासन गर्दै आएका छन् । 

यस चुनावमा नेसनल कन्फरेन्स पार्टी (एनसी) र कंग्रेसको गठबन्धनलाई सरकार गठन गर्न बहुमत प्राप्त भएसँगै समर्थकमा हर्सोल्लास छाएको छ । केन्द्रमा सत्ता रहेको भारतीय जनता पार्टी (भाजपा)ले भने कुल २९ मत प्राप्त गरेको छ । एनसी र कंग्रेसले विधानसभाको कुल ९० सिटमध्ये ४९ सिट जितेको निर्वाचन आयोगको तथ्यांकले बताएको थियो । कतिपयले यस निर्वाचनलाई जम्मु–कस्मिर क्षेत्रको विशेष दर्जा खारेज गर्ने संघीय सरकारको निर्णयमाथिको जनमतसंग्रह बताएका थिए । 

सुझावित समाचार