रोद्रिगो दुतेत्रे फिलिपिन्सका राष्ट्रपति बन्नुअघि देशको सबैभन्दा सम्पन्न सहर डेभाओका मेयर थिए । त्यहीँ मेयर हुँदा उनले पछि राष्ट्रपति भएपछि देशभर लागू गरेको ‘लागुऔषधविरुद्धको युद्ध’को पहिलो प्रयोग गरेका थिए । राष्ट्रपति बनेपछि दुतेत्रेको लागुऔषधविरुद्धको युद्धका कारण दसौँ हजार निर्दोष मानिस गैरन्यायिक हत्यामा मारिन पुगे । यस प्रकरणको मुद्दा अहिले अन्तर्राष्ट्रिय अदालतमा चलिरहेको छ । राष्ट्रपतिबाट बाहिरिएको झन्डै दुई वर्षपछि सोमबार दुतेत्रेले पुनः डेभाओ सहरको मेयर पदका लागि मनोनयन दर्ता गराएका छन् ।
फिलिपिन्सको संविधानले कुनै एक व्यक्तिलाई ६ वर्षको एक कार्यकालका लागि मात्र देशको राष्ट्रपति बन्न पाउने व्यवस्था गरेको छ । सन् २०१६ देखि २०२२ बिच राष्ट्रपति रहेका दुतेत्रे पुनः राष्ट्रपति हुन पाउनेछैनन् । त्यसैले उनले आफ्नो पुरानो राजनीतिक गढ डेभाओको मेयर पदमार्फत राजनीतिमा पुनरागमन गर्न खोजेका हुन् । उसो त गत सातादेखि नै उनको राजनीतिक अवकाश अन्त्य हुने चर्चा चल्न थालेको थियो । नभन्दै शनिबार उनले त्यसको घोषणा गरे ।
राजनीतिक पुनरागमनको घोषणाका क्रममा उनले आफ्नो आगामी राजनीतिक करिअर पनि पहिलेजस्तै लागुऔषध प्रयोगकर्ताविरुद्ध लक्षित हुने बताएका छन् । शनिबार एक सम्बोधनका क्रममा दुतेत्रेले चेतावनी दिँदै ड्रग्स प्रयोगकर्ता तथा साना बिक्रीकर्ताहरू ‘अहिले नै उनको सहरबाट भागिहाल्न’ चेतावनी दिएका छन् । ‘यदि म मेयर भएँ भने बाँच्न पाउँला भनेर नसोचे हुन्छ । हाम्रो जम्काभेट निश्चित हुनेछ र त्यसवेला म साँच्चै तिमीहरूलाई मार्नेछु,’ दुतेत्रेले भने ।
लागुऔषधविरुद्धको युद्धका लागि दुतेत्रेले देशभित्र र विदेशमा आलोचना सामना गर्नुपरे पनि डेभाओमा भने उनी अझै निकै लोकप्रिय छन् । दुतेत्रे सात कार्यकालसम्म डेभाओको मेयर रहिसकेका छन् । अहिले उनको छोरा सेबास्टियनले सो पद सम्हालिरहेका छन् । आगामी मेमा हुने निर्वाचनमा सेबास्टियन अब पिता दुतेत्रेका उपमेयर बन्ने भएका छन् । उनी सहरको मेयर पदमा पुनः निर्वाचित भए भने उनले त्यसलाई उनको परिवारको खस्कँदो राजनीतिक प्रभाव फिर्ता गर्न प्रयोग गर्न सक्छन् । उनकी छोरी सारा दुतेत्रे अहिले देशकी उपराष्ट्रपति छिन् । गत जुन महिनामा राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरसँगको तनावका कारण उनले मार्कोसको क्याबिनेटबाट भने राजीनामा दिइसकेकी छिन् ।
अन्तर्राष्ट्रिय अपराध न्यायालय (आइसिसी)ले उनी राष्ट्रपति भएको समय र डेभाओको मेयर हुँदा भएको हिंसात्मक अभियानको अनुसन्धान गरिरहेको छ । अधिकारवादी समूहका अनुसार सन् २०१६ देखि २०२२ बिचमा फिलिपिन्समा भिजिलान्ते समूह तथा राष्ट्रपति दुतेत्रेको समर्थन प्राप्त ‘डेथ क्वाड’ले लागुऔषध प्रयोग तथा कारोबारमा संलग्न भएको आरोपमा झन्डै ३० हजार मानिसलाई मारे ।
मर्नेको संख्या बढिरहँदा अपराध घटाएको भन्दै जनमानसको ठुलो हिस्सामा भने उनको समर्थन बढिरह्यो । त्यही प्रभावले दुतेत्रेकी छोरी सारा प्रारम्भमा उनकी प्रबल उत्तराधिकारीका रूपमा देखिएकी थिइन् । तर, सारालाई प्रतिस्पर्धा दिए, देशका पुरानो राजनीतिक परिवारका सदस्य जुनियर मार्कोसले । दुईबिच कठोर प्रतिस्पर्धा हुने चर्चाबिच उनीहरू एक भएर चुनाव लड्ने निर्णय गरे । नयाँ गठबन्धनअनुरूप मार्कोस राष्ट्रपति उम्मेदवार र सारा उपराष्ट्रपति उम्मेदवार बनिन् । गठबन्धनले मार्कोस परिवार बलियो रहेको देशको उत्तरी भेग र दुतेत्रे प्रभावशाली रहेको देशको दक्षिणलाई जोड्ने तिनले वाचा गरे । स्वाभाविक रूपमा चुनावमा दुईजनाले जित हासिल गरे । तर, चुनावअघिको मेल चुनावपछि कायम रहन सकेन ।
चुनावपछि मार्कोस–दुतेत्रेको सम्बन्धमा अविश्वास गहिरिँदै गयो । नीतिगत रूपमा समेत दुईबिच फाटो देखिन्छ । जस्तो– दुतेत्रे परिवारले चीननजिक हुने नीति समर्थन गर्दा मार्कोसले ‘साउथ चाइना सी (दक्षिण चीन सागर)’मा चीनसँग बढिरहेको विवादमा अमेरिकाको साथ खोजेका छन् । फिलिपिनी संसद्को तल्लो सदनका सभामुख मार्टिन रोमुलदेजले (जो नाताले मार्कोसका भाइ पर्छन्) पछिल्लो समय दुतेत्रेले लागुऔषध युद्धमा अत्यधिक बल प्रयोगको विषयमा एक महिना लामो अनुसन्धान गराए । त्यसयता अन्तर्राष्ट्रिय अपराध न्यायालयले दुतेत्रेविरुद्ध पक्राउ पुर्जी जारी गरे मार्कोसले सघाउन सक्ने आशंका बढेको छ ।
दुतेत्रेले उनको कार्यकालमा लागुऔषध प्रयोगविरुद्ध चलाइएको हिंसात्मक अभियानको पूर्ण जिम्मेवारी लिएका छन् । तर, त्यससम्बन्धी मुद्दा अन्तर्राष्ट्रिय अदालतमा चल्न नहुने बताउँदै आएका छन् । राष्ट्रपति र उपराष्ट्रपति कार्यालयबिच बढ्दो तनावको पछिल्लो संकेत गत महिना जारी गरिएको आगामी वर्षको प्रस्तावित बजेटमा देखियो, जब साराको कार्यालयको बजेट करिब दुईतिहाइले कटौती भयो । दुतेत्रेले प्रतिद्वन्द्वीले आफूविरुद्ध महाभियोगको प्रस्ताव ल्याउन सक्नेसमेत संकेत गरेकी छिन् । पछिल्लो महिना राष्ट्रपति मार्कोसले दुतेत्रे परिवारको गढ डेभाओमा समेत आफ्ना प्रतिद्वन्द्वीलाई असर पर्ने कदम चालेका छन् । दुतेत्रेका छोरा सेबास्टियनले उनका पिताको जस्तै लागुऔषधविरोधी हिंसात्मक अभियान घोषणा गरेको समाचार बाहिरिएपछि मार्कोसले त्यहाँ प्रहरीको ‘स्पेसल एक्सन फोर्स’का दुई बटालियन पठाए ।
दुतेत्रेले सिनेट पदको उम्मेदवारी दिने चर्चा पनि चलिरहेको थियो । शनिबार पत्रकासँगको कुराकानीमा ७९ वर्षीय दुतेत्रेले उमेरका कारण आफूमा देशव्यापी चुनावी प्रचार अभियान सहने ऊर्जा बाँकी नरहेको बताए । त्यसै समय उनले पछिल्लो समय उनको दैनिकी पनि बताए । ‘मेरो दिन अहिले टिभी हेरेर र पत्रिका पढेर बित्छ । मेरी श्रीमती राति घर फर्किएपछि मलाई हेर्छिन् । म सोफामा बसेर टिभी हेरिरहेको हुन्छ । उनी रिसाएर अनुहार बिगार्छिन् । मेरो अवस्था अहिले यस्तो छ,’ दुतेत्रेले भने ।
– द न्युयोर्क टाइम्सबाट