प्लास्टिकका फूलमालामा प्रतिबन्ध

बुधबार, २३ असोज, २०८१
डिजिटल संस्करण

जिल्ला प्रशासन कार्यालय लमजुङले प्लास्टिकजन्य फूलको गुच्छा, मालाजस्ता सामग्रीको प्रयोग तथा बिक्री–वितरणमा प्रतिबन्ध लगाएको छ । प्रशासनले वातावरण र स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भन्दै प्लास्टिकजन्य फूलमालाको उत्पादन, बिक्री–वितरण, ओसारपसार र उपभोगमा प्रतिबन्ध लगाएको हो । चाडपर्व, सार्वजनिक समारोह, मेला, महोत्सव तथा अन्य कार्यमा प्लास्टिकजन्य फूलको गुच्छा, मालालगायतका सामग्रीको प्रयोग तथा बिक्री–वितरणलाई पूर्ण रूपमा नियन्त्रण गरिने प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले बताए । 

प्रशासनले चाडबाडका वेला प्लास्टिकजन्य फूलगुच्छा भित्रने भएकाले नागरिकलाई सचेत गराएको छ । लमजुङका विभिन्न पालिकामा फूलखेती व्यवसायका रूपमा विकास हुने क्रममा रहेको र नेपालसमेत क्रमशः पुष्प व्यवसायमा आत्मनिर्भर हुँदै जाँदा प्लास्टिकजन्य वस्तुबाट निर्मित फूलमाला, खादा र अन्य सामग्रीको प्रयोग नगर्न सार्वजनिक सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी गुरुङले बताए ।

साथै, जिल्लामा प्लास्टिकजन्य फूलका गुच्छा, मालाका साथै चाडपर्वको समयमा हुन सक्ने कालोबजारी तथा कृत्रिम अभावको सिर्जना गरी मूल्यवृद्धि गर्नेजस्ता कार्य नियन्त्रणका लागि बजार अनुगमनलाई तीव्रता दिइएको प्रमुख जिल्ला अधिकारी गुरुङले जानकारी दिए । प्लास्टिकजन्य फूलमालाले स्थानीय उत्पादनलाई समस्या बनाइरहेका वेला प्रशासनले गरेको यस निर्णयले व्यवसायीमा उत्साह थपिएको पुष्प व्यवसायीहरू बताउँछन् ।

सुझावित समाचार