राष्ट्रिय सभा अध्यक्ष दाहालसँग रुसी राजदूत नोभिकोभको शिष्टाचार भेट

मंगलबार, २२ असोज, २०८१
डिजिटल संस्करण

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि रुसी महासंघका राजदूत अलेक्सेई नोभिकोभले शिष्टाचार भेट गरेका छन्। राजदूत नोभिकोभले मंगलबार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन्। भेटमा दुई देशबिचको सम्बन्ध, सहयोग, सहकार्य र संसदीय अनुभव आदानप्रदानलगायतका विषयमा कुराकानी भएको बताइएको छ।

भेटमा अध्यक्ष दाहालले नेपाल(रुस सम्बन्ध विगतदेखि नै सुमधुर रहेको भन्दै जनस्तरको सम्बन्धले दुई देशको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए। नेपालको संघीय संसदमा नेपाल(रुस संसदीयमैत्री समूह गठन गरिएको उल्लेख गर्दै अध्यक्ष दाहालले मैत्री समूहले दुई देशबिचको संसदीय सम्बन्ध, अनुभव आदानप्रदान र भ्रमण आदानप्रदान गर्न सहज हुने उल्लेख गरे।

नेपाली विद्यार्थीहरूलाई रुसमा अध्ययनका लागि छात्रवृत्तिको संख्या वृद्धि गर्न र काठमाडौं(मस्को सीधा हवाई सुविधा सुचारु गर्न पहल गर्न उनले आग्रह गरे। साथै, नेपालको कृषि, प्रविधि र ऊर्जाको क्षेत्रमा लगानी गर्न रुसी लगानीकर्ताहरूलाई प्रोत्साहित गर्न आग्रह गर्दै दाहालले नेपालको पर्यटन प्रवर्द्धन गरी रुसी नागरिकलाई नेपाल भ्रमणको वातावरण बताउन पनि अनुरोध गरेका थिए।

रुस(युक्रेन युद्ध भएपछि नेपाली नागरिकहरू विभिन्न माध्यामबाट रुसी सेनामा भर्ती हुने गरेको घटनाप्रति चासो व्यक्त गर्दै अध्यक्ष दाहालले नेपाल सरकारले रुसी सरकारलाई गरेको आग्रह स्मरण गराए।

सो अवसरमा राजदूत नोभिकोभले दुई देशबिचको सम्बन्ध सुमधुर रहेको भन्दै आपसी हित, सहयोग आदानप्रदान र सहकार्य बढाउँदै जानुपर्ने बताए। नेपालमा पर्यटनको सम्भावना धेरै राम्रो भएको उल्लेख गर्दै उनले रुसले लुम्बिनीमा बौद्ध गुम्बा निर्माण गरिरहेको र उक्त परियोजना सम्पन्न भएपछि रुसका धार्मिक पर्यटकहरूको संख्या वृद्धि हुने बताए।

नेपालले जलविद्युत् उत्पादनबाट राम्रो आम्दानी गर्न सक्ने भन्दै राजदूत नाभिकोभले रुसका लगानीकर्ताहरू नेपालमा विद्युत् उत्पादनमा लगानी गर्न इच्छुक रहेको उल्लेख गरे। सो अवसरमा उनले जलविद्युत् उत्पादन, हवाई सेवा विस्तार, अन्तरिक्षमा संयुक्त उडान, प्रविधिलगायतका क्षेत्रमा रुसले नेपालमा काम गर्ने भन्दै त्यसका लागि लगानीको वातावरण बनाउन नेपाल सरकारले पहल गरिदिन आग्रह गरे।

नेपाल–मस्को सीधा हवाई सेवा विस्तारका लागि आफूले पहल गरिरहेको भन्दै राजदूत नोभिकोभले नेपाल सरकारले थप पहल गरे सीधा हवाई सेवा सुरु गर्न गाह्रो विषय नभएको बताए।

सुझावित समाचार