परम्परागत सीप र प्रविधिको प्रयोगमा आधारित रहेर पुस्तौँदेखि सञ्चालन हुँदै आएका ‘बालीघरे प्रथा’ आरन पेसा पछिल्लो समयमा लोप हुने अवस्थामा पुगेकाे छ । ताप्लेजुङमा स्थानीय सरकार पनि यसको संरक्षणमा जुटेको पाइँदैन ।
ताप्लेजुङका हरेक क्षेत्रमा रहेका परम्परागत रूपमा सञ्चालनमा रहेका आरन पेसालाई संरक्षण र संवर्द्धन गर्नु आवश्यक देखिन्छ । आधुनिकतासँगै नयाँ शैली र ढर्राबाट पुरातात्त्विक परम्परागत आरन पेसा संकटमा परेकाे छ भने लोप नै हुने अवस्था आउन थालेको र यसलाई जोगाउन स्थानीय सरकारले पहल गर्नु पर्ने बताइन्छ ।
जिल्लाका केही गाउँपालिकाले भने यसको अभियानमा जुटेको बताएका छन्। मैवाखोला गाउँपालिकाले दलितलक्षित कार्यक्रम सञ्चालन गरी लोप हुन लागेको परम्परागत पेसालाई संरक्षण गर्ने र त्यसलाई आयआर्जको बाटोमा पुर्याउने लक्ष्य लिएको पालिका अध्यक्ष विजयप्रकाश वनेमले बताए ।
‘हाम्रो पालिकाभित्र परम्परागत रूपमा सञ्चालन हुँदै कतिवटा आरन छन्, तिनको पहिचान र आवश्यकताअनुसार सहयोग गर्दै संरक्षण गर्ने अध्यक्ष वनेमले बताए । अध्यक्ष वनेमले भने, ‘प्रविधिको विकास सँगसँगै बढ्दो आधुनिकताको प्रभावले च्याप्दै जान थालेपछि समाजमा बालीघरे प्रथाका रूपमा रहेका आरन पेसा संकटमा पर्न थालेको छ । यसलाई जोगाउने प्रयत्न गरिरहेका छौँ ।’
दलितलक्षित कार्यक्रमअन्तर्गत पालिकामा १५ लाख रुपैयाँ छुट्याएको बताउँदै परम्परागत आरन पेसा तथा अन्य सबै पेसालाई सहयोग गर्दै संरक्षण गर्ने अभियानमा जुटेको मैवाखोला गाउँपालिका– १ का वडाध्यक्ष तथा पालिकाका प्रवक्ता चन्द्रबहादुर तामाङले बताए ।
पालिकामा मागअनुसार विभिन्न वडामा रहेका आरनलाई टिनको छानो र आगो बाल्न प्रयोग गरिने पंखालगायत मागअनुसार सहयोग गर्नेसमेत प्रवक्ता तामाङले जानकारी दिए । थोरै भए पनि सहयोगले दीर्घकालीन रूपमा सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको उनले बताए । प्रवक्ता तामाङले रोजगारीका लागि विदेश जानुभन्दा आफ्नै गाउँमा रोजगार सिर्जना गरी स्थानीयवासीलई गाउँमै राख्ने अभियानमा रहेकोसमेत बताए ।
ठुलो बजेट नहुँदा चाहँदाचाहँदै पनि धेरै सहयोग गर्न नसकिएको र समयसँगै प्रविधिको प्रयोग बढ्दै जाँदा बिस्तारै आरनलाई आवश्यक प्रविधि उपकरण पनि भविष्यमा सहयोग गर्ने पालिकाले जनाएको छ । फलामको धातुबाट बन्ने सबै प्रकारका घरायसी प्रयोजनका लागि प्रयोग हुने हातहतियार तथा औजारहरू आरनबाटै निर्माण गरिन्छ । आफ्नो बाजेबराजुले गर्दै आएको पुर्ख्याैली पेसा भए पनि यसलाई व्यावसायिक रूपमा भने पुस्तान्तरण र रूपान्तरण गर्न समस्या भएकाे आरन व्यवसायी कृष्ण विश्वकर्मा बताउँछन् ।