दसैँलाई खुसीको पर्व मानिन्छ । वर्षमा एकपटक खुसी बाँड्न आउने दसैँलाई स्वदेश तथा विदेशमा रहेका नेपालीले नयाँ लाउने र मीठो खाने पर्वका रूपमा मनाउने गरेका छन् । गाउँका हाटबजार र सहरका प्रमुख व्यापारी केन्द्र तथा सपिङ मलमा विगतको जस्तै यसपटक पनि किनमेल गर्नेहरूको भिड थामिनसक्नु छ । काठमाडौं उपत्यकासहित प्रमुख सहरहरू यतिवेला भिडले अस्तव्यस्त छ ।
परिवारका सबै सदस्यलाई एकैपटक लुगा किन्न दसैँ कुर्ने प्रचलन अहिले पनि कायम छ । यद्यपि, विगतमा फरक पोसाक खरिद गर्ने गरिए पनि अहिले सकभर एउटै डिजाइन र रङको कपडा परिवारका सबै सदस्यले लगाउने प्रवृत्ति बढ्दै गएको छ । व्यवसायीहरूले पनि साना–ठुला सबै उमेरलाई हुने मिल्दोजुल्दो प्रकृतिको कपडाको माग हुने भएकाले उत्पादन र बिक्रीका लागि पसलमा राख्ने क्रम बढेको छ ।
दसैँमा नयाँ कपडा किन्ने र सिलाएर लगाउने प्रचलन भने करिब हराइसकेको छ । रेडिमेड कपडा नै रोज्ने बानी स्थापित भइसकेको छ । मोरङ स्थायी घर भई गौशाला बस्दै आएकी अम्बिका थापाले ८–१० वर्षदेखि रेडिमेड लुगा मात्रै लगाइरहेको बताइन् । ‘सिलाएर लुगा लगाउने कुरा दिमागबाटै हराइसक्यो,’ उनले भनिन्, ‘रेडिमेड कपडा पनि भनेजस्तो डिजाइन र कलरमा पाइने गरिएको छ ।’
त्यस्तै, पसल चाहरेर लत्ता–कपडा खरिद गर्ने प्रवृत्तिमा पनि बिस्तारै कमी आउन थालेको छ । खासगरी सामाजिक सञ्जाल फेसबुक रिल, टिकटक, इन्स्ट्राग्रामलगायतका प्लेटफर्ममा अनलाइन सपिङ सुविधा रहेको र गुणस्तरमा समेत व्यवसायीहरू प्रतिबद्ध हुने क्रम बढ्दै गएकाले दसैँको सपिङ अनलाइनबाटै हुने क्रम पनि बढ्न थालेको छ । विदेशमा रहेका नेपालीले समेत मौलिका पोसाकहरू अनलाइनका माध्यमबाट खरिद गर्ने क्रम बढेको छ ।
दसैँका लागि चीनको व्यापारिक सहर ग्वान्झाओ र इयूबाट रेडिमेड कपडा तथा सान्दुङ र गान्सुबाट आयात भएका फलफूल र तरकारी भने नाकामा अड्किएका छन्
विगत तीन वर्षदेखि मुलुकको अर्थतन्त्रमा अपेक्षित दरले सुधार नभएकाले अधिकांश व्यवसायको ‘ग्रोथ’ छैन । यसको असर दसैँमा हुने किनमेल संस्कृतिमा पनि आंशिक रूपमा देखापरेको छ । तर, निराश भइहाल्ने स्थिति पनि नरहेको काठमाडौंको भोटाहिटी क्षेत्रमा कपडाको होलसेल विक्रेता उमा कार्कीले बताइन् । ‘विगतमा दसैँ एक महिनाअघिबाटै आउँथ्यो,’ उनले भनिन्, ‘यसपालि अलि ढिला भयो, फरक यति मात्रै हो ।’
उनका अनुसार विगतका वर्षमा दसैँ आउनु एक महिनाअघिदेखि व्यापारमा क्रमिक सुधार भएर दसैँको घटस्थापनादेखि उच्च गति लिने गरेको थियो । यसपटक भने घटस्थापनादेखि मात्रै दसैँको किनमेल सुरु भएको उनले बताइन् । ‘घटस्थापनादेखिको बिक्रीदर बढेको छ । बिस्तारै भिड थामिनसक्नु पनि भएको छ,’ उनले भनिन् । राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले पनि काठमाडौंसहित प्रमुख सहरहरूमा दसैँको किनमेल गर्ने नागरिकको भिड बढेको बताए ।
‘दसैँमा किनमेल गर्नेहरूको भिड विगतमा जस्तै यसपालि पनि छ,’ उनले भने । तर, धेरै उपभोक्ताहरू छुट अफर राखिएको ‘सेल’ सामग्रीमा झुम्मिएको उनले बताए । दसैँमा उपभोक्तालाई बढीभन्दा बढी सामग्री खरिदका लागि उत्प्रेरित गर्न व्यवसायीहरूले ‘सेल’ लगाउने पुरानै व्यापारिक रणनीति हो । मन्दीका कारण यसपालि भने सेलका सामग्री धेरै बिक्री भइरहेको अध्यक्ष कटुवालको भनाइ छ ।
‘उपभोक्ताहरू भित्री गल्लीका पसल र होलसेलसम्म कम पुगेका छन्,’ उनले भने, ‘सेलमा राखिएका सामग्री खरिदमा धेरै झुम्मिएका छन् ।’ प्रमुख सहर र चोकमा रहेका पसलको भिड पनि ‘सेल’ सामग्रीमै केन्द्रित रहेको उनको भनाइ छ । पहिरोले राजमार्ग अवरुद्ध हुँदा चीन तथा भारतबाट नयाँ डिजाइनका लुगा ल्याउन समस्या भए पनि नेपाली उत्पादन पर्याप्त रहेको उनले बताए । ‘कपडामा बिस्तारै मेड इन नेपाल उत्पादनहरू हाबी हुँदै छन् । त्यसैले यसपालिको दसैँमा भारत र चीनबाट कम परिमाण आउँदा पनि समस्या भएको छैन,’ उनले भने ।
बजारमा उपभोक्ताले खोजेजस्तो नयाँ डिजाइन र रङका कपडाहरू पर्याप्त रहेको उनले बताए । बाढीपहिरो नआएको भए चीन र भारतबाट आउने कपडाले उपभोक्तालाई थप सहज बनाउन सक्ने उनको भनाइ छ । तर, दसैँका लागि चीनबाट ल्याइएका सामान भने तत्काल नआउने प्रस्ट भइसकेको छ । काठमाडौंसहित प्रमुख सहरमा चीनको व्यापारिक सहर ग्वाङझाओ र इयूबाट रेडिमेड कपडाहरू आयात हुने गरेका छन् । सान्दुङ र गान्सु प्रोभिन्सबाट फलफूल र तरकारीजन्य सामान आयात गरिन्छ ।
दसैँ र जाडो यामका लागि ल्याइएका रेडिमेड र फलफूल यतिवेला ल्हासा, सिँगात्से, मिम्बु, न्यालम, केरुङ, रिकार्चे र तिङ्रीका गोदाममा राखिएका छन् । ११ र १२ असोजमा परेको अविरल वर्षाले नेपाल र चीन दुवैतर्फको सीमा क्षेत्रको पुल, सडक र सुरुङमा क्षति पुगेको र नाका सुचारु हुन समय लाग्ने भएकाले बिचबाटोमा अड्किएका सामान गोदाममा राखेर करिब तीन सय चिनियाँ कन्टेनहरू फर्किसकेका छन् । केही फलफूल र तरकारीजन्य सामान चिस्यान केन्द्र भएको गोदाममा राखेर सुरक्षितसमेत गरिएको छ । कपडा र फलफूल राखिएको गोदाम भाडा निकै महँगो परेको व्यवसायीले बताएका छन् ।
केरुङ र खासामा लामो समयदेखि फलफूलको व्यापार गर्दै आएका नेपाल हिमालय सीमापार वाणिज्य संघका सदस्य शारदाप्रसाद पराजुलीले दिएको जानकारीअनुसार चिनियाँ भन्सार तिरेर नेपालतर्फ आउन लागेका करिब ७० नेपाली कन्टेनरबराबर फलफूल तथा तरकारी कुहिने अवस्थामा पुगेको छ ।
‘खासाभन्दा तल मितेरीपुलसम्म ५४ र रसुवागढीपारि चिनियाँ क्षेत्रमा रहेका १७ कन्टेनर सामान कुहिने अवस्थामा पुगेका छन्,’ पराजुलीले भने, ‘ती कन्टेनरमा स्याउ, लसुन, अंगुर, आँप, अदुवा र किबी छन् । एक कन्टेनर स्याउको मूल्य २० लाखबराबर पर्छ ।’
बाढीपहिरोपछि राज्यले सडकमा चासो नदिँदा यसपालि नेपाली व्यापारीले ठूलो नोक्सान व्यहोर्नुपरेको उनले बताए । ‘बाढीपहिरो गएको एक साता बित्यो । तर, राज्यले सडक खुलाउन केही चासो दिएन,’ दुखेसो पोख्दै उनले भने, ‘अझै सडक सुचारु हुने कुनै टुंगो छैन ।’
केरुङबाट रसुवागढी आउने चीनतर्फको सडक खुल्न कम्तीमा १५ दिन लाग्ने चिनियाँ अधिकारीहरूले जानकारी दिएको पराजुलीले बताए । तातोपानी नाका खुलाउन पनि स्थानीय व्यापारी, जनप्रतिनिधि र सडक डिभिजनसमेतको सहयोगमा लार्चास्थिति भोटेकोसी नदीमा ह्युमपाइप राखेर बाटो निर्माण गरिएको छ । तातोपानीदेखि मितेरीपुलसम्मको सडक बन्न कम्तीमा तीन दिन लाग्ने तातोपानी भन्सारका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले जानकारी दिए । तातोपानी भन्सारको यार्डमा जाँचपास भएका सबै कन्टेनर भने जोखिमपूर्ण यात्रा गर्दै कोदारी राजमार्गबाट राजधानी काठमाडाैं आएका छन् ।