१२ असोजमा मकवनपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित वात्सल्यदेवी एन्फा एकेडेमीमा रहेका ६ जना प्रशिक्षणरत खेलाडीहरूको सम्झनामा बारामा दीप प्रज्वलन गरिएको छ।
बाराका विकल रेग्मीसहित आदित्य बलम्पाखी, प्रियान्स आचार्य, दिवस बानियाँ, अनुपम घलान र साइमन योन्जनको बाढीपहिरोमा परेर मृत्यु भएको सम्झनामा सोमबार साँझ बाराको निजगढ नगरपालिका– ८ स्थित बुद्धचोकमा जिल्ला फुटबल संघ बाराले दीप प्रज्वलन गरेको हो।
मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका–३ स्थित वाल्सत्यदेवी माविमा रहेको एन्फा एकेडेमीमा प्रशिक्षणरत ६ खेलाडीको गत १२ असोजमा आएको पहिरोमा पुरिएर मृत्यु भएको थियो।
११ गतेदेखि परेको अविरल वर्षाका कारण विद्यालय छाडेर सुरक्षित स्थानतर्फ जानू भन्ने सूचनापछि डाँडातर्फ जाने क्रममा उनीहरू पहिरोमा परेका थिए। उनीहरूसँगै अध्ययन गर्ने अन्य ३० विद्यार्थी भने सुरक्षित छन्।
पहिरोमा पुरिएर जीवन गुमाएका तिनै खेलाडीहरूको सम्झनामा जुम्लामा दीप प्रज्वलन गरिएको हो। मधेश प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाल, एन्फा मधेश प्रदेशका अध्यक्ष नेपाल कार्की, प्रदेश सांसद मीना लामा, जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी, खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था निजगढका अध्यक्ष सुदर्शनप्रसाद कोइरालालगायतले खेलाडीहरूको आत्माको चीरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरे।
एन्फाले एक सूचना जारी गर्दै एन्फासँग सम्बन्धित सम्पूर्ण जिल्ला फुटबल संघ, प्रदेश फुटबल संघ, क्लबले पनि आ–आफ्नो स्थानमा सोही समयमा दीप प्रज्वलन गर्न आह्वान गरेको थियो।