बाढीपहिरोको भौतिक क्षति : निर्जीवन बिमामा दुई अर्ब ६७ करोडको दाबी

सोमबार, २१ असोज, २०८१
डिजिटल संस्करण

१०–१२ असोजको बाढी, पहिरो तथा डुबानबाट सात अर्ब २८ करोड ८५ लाख १९ हजारबराबरको क्षति भएको बिमादाबी पर्ने प्रारम्भिक अनुमान गरिएको छ । निर्जीवन बिमा कम्पनीहरूले प्रारम्भिक रूपमा तयार गरेको तथ्यांकमा उक्त रकमबराबरका दुई हजार ३३७ वटा दाबी पर्ने देखिएको हो । एकीकृत तथ्यांक नियामक निकाय नेपाल बिमा प्राधिकरणले राख्ने गरेको छ । 

कम्पनीहरूले फिल्डमा सर्भेयर (प्राविधिक) नै खटाएर बिमा दाबीयोग्य क्षतिको अन्तिम प्रतिवेदन निकाल्न बाँकी छ । त्यसको प्रक्रिया भने अघि बढिसकेको छ । कम्पनीहरूको प्रारम्भिक निरीक्षण तथा बिमितबाट प्राप्त सूचनाका आधारमा सवा सात अर्बबराबरको दाबी पर्ने अनुमान गरिएको नेपाल बिमक संघका अध्यक्ष चंकी क्षेत्रीले बताए ।बाढीले क्षति ऊर्जा, सिँचाइ, सडक, पुललगायतका विभिन्न परियोजनाको बिमा गर्न मिल्छ । यसैगरी, पशुपक्षी तथा कृषि, पसल, घर तथा भवनलगायतको भौतिक सम्पत्तिको पनि बिमा गर्न मिल्छ । त्यसैगरी, सवारीसाधनको अनिवार्य रूपमा बिमा गर्नुपर्छ ।

हालसम्म विभिन्न कम्पनीहरूमा दुई अर्ब ६७ करोड ७२ लाख ९४ हजारबराबरका ७०९ वटा दाबी आवेदन भने परिसकेका छन् । विशेष प्राथमिकताका साथ यसको दाबी प्रक्रिया अघि बढाउने प्राधिकरण र बिमा कम्पनीहरूको योजना छ । यद्यपि, यसमा राष्ट्रिय बिमा कम्पनीको तथ्यांक समावेश छैन । उक्त कम्पनीले अनुमानित दाबी विवरण तयार नगरेको बताएको छ । हालसम्म उक्त कम्पनीमा नौ करोड ६० लाखबराबरका १२ वटा दाबी आवेदन भने आइसकेका छन् । त्योसमेत जोड्दा अनुमानित दाबी अझ बढ्न सक्नेछ । 

‘बिमितहरूबाट आएको विवरण र कम्पनीको निरीक्षणको क्रममा अहिलेलाई सवा सात अर्ब हाराहारीमा दाबी पर्ने अनुमान गरिएको छ । दाबी आवेदन आउन सुरु भइसकेको पनि छ । तर, प्राविधिकहरू फिल्डमा गएर बिमा दाबीयोग्य क्षति कति छ भनेर प्रतिवेदन तयार गर्न बाँकी नै छ । त्यसको प्रक्रिया भने अघि बढिसकेको छ,’ नेपाल बिमक संघका अध्यक्ष क्षेत्रीले भने, ‘प्रतिवेदन कस्तो आउँछ, त्यसको आधारमा दाबी भुक्तानी हुन्छ । त्योअनुसार यो आँकडा तल–माथि पनि हुन सक्छ ।’

गत १५ असारमा पत्रकार सम्मेलन गर्दै मुख्यसचिव एकनारायण अर्यालले १०–१२ असोजको बाढीपहिरोले ऊर्जा, सिँचाइ, सडक, कृषिलगायतका क्षेत्रमा मात्रै १७ अर्बबराबरको क्षति भएको बताएका थिए । खानेपानी संरचनामा तीन अर्ब ५५ करोड, सडक संरचनामा दुई अर्ब ५२ करोड, ऊर्जामा चार अर्ब, सिँचाइमा एक अर्ब र कृषि तथा पशुपक्षीमा ६ अर्ब क्षति भएको उनको भनाइ थियो । यद्यपि, बाढीले सवारीसाधन, व्यक्तिगत आवास (घर)लगायतमा पु¥याएको क्षतिको विवरण सरकारले अझै संकलन गरेको छैन । 

संघका अध्यक्ष क्षेत्री क्षतिको तुलनामा दाबी आवेदन कम भएको बताउँछन् । ‘बाढीले धेरै क्षति पु¥याएको छ । तर, त्यसको तुलनामा दाबी भने कम नै हो,’ उनले भने । आवश्यक प्रक्रिया पूरा गरेर सकेसम्म छिटो दाबी भुक्तानी दिने प्रयास गरिने उनले बताए । ‘हामीले नियमित दाबी भुक्तानीलाई पनि प्राथमिकतामै राखेका हुन्छौँ । यसको दाबी भुक्तानीलाई भने विशेष प्राथमिकता अघि बढाउँछौँ,’ उनले भने, ‘आवश्यक प्रक्रिया पूरा गरेर सकेसम्म छिटो दाबी भुक्तानी दिने प्रयत्न गर्नेछौँ । बिमितहरूलाई ठुलो क्षति भएको छ । तसर्थ, केही रकम अग्रिम भुक्तानी दिने र अन्तिम प्रतिवेदन आएपछि बाँकी रकम दिने गरी पनि काम गर्नेछौँ । 

प्रक्रियागत रूपमा अब कम्पनीहरूले फिल्डमा सर्भेयर अर्थात् प्राविधिक खटाएर बिमा दाबीयोग्य क्षतिको मूल्यांकन गर्नेछन् । त्यसपछि सोही आधारमा कम्पनीहरूले बिमादाबी भुक्तानी दिनेछन् । कतिपय अवस्थामा यी प्रक्रिया पूरा गर्दा समय पनि लाग्न सक्छ । तसर्थ, तत्काल केही रकम अग्रिम रूपमै भुक्तानी दिने कम्पनीहरूको तयारी छ । 

यता नियामक निकाय प्राधिकरणले यसको दाबी प्रक्रिया द्रुतगतिमा अघि बढाउन निर्देशन दिएको छ । साथै, केही रकम अग्रिम रूपमै दाबी भुक्तानी गर्न पनि प्राधिकरणले पत्रमार्फत कम्पनीहरूलाई निर्देशन दिएको छ । प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीले कम्पनीहरूलाई जति सक्दो छिटो दाबी प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताए ।

‘यो नियमित नभएर प्राकृतिक विपत्ले आएको दाबी हो । प्रभावित बिमितहरू समस्यामा छन् । दाबी प्रक्रिया पूरा गर्दा भुक्तानीमा समय लाग्छ । तसर्थ, अग्रिम रूपमा  केही रकम दाबी दिन पनि कम्पनीहरूलाई निर्देशन दिएका छौँ,’ उनले भने, ‘साथै, दाबी प्रक्रिया पनि छुट्टै र छिटो अघि बढाउन भनेका छौँ । यसको दाबी प्रक्रियामा प्राधिकरणले विशेष प्राथमिकता राख्नेछ र आवश्यक सहजीकरण  पनि गरिदिनेछ ।’ 

 ४० प्रतिशतभन्दा बढी पुनर्बिमा 
कुल दाबीमा ४० देखि ४५ प्रतिशतको अनुपातमा पुनर्बिमा कम्पनीहरूबाट हुने अनुमान गरिएको छ । बिमा कम्पनीहरूले सबै जोखिम धारण (बहन) नगर्न पनि सक्छन् । यस्तो समयमा आउने दाबी झन् धेरै हुन्छ । त्यो अवस्थामा बिमा कम्पनीहरूले नेपालका सहित विभिन्न देशका पुनर्बिमा कम्पनीमा पुनर्बिमा (बिमाको पनि बिमा) गरेका हुन्छन् । जोखिमको केही हिस्सा आफूलाई राखेर बाँकी पुनर्बिमा कम्पनीलाई हस्तान्तरण गर्छन् । त्यसमा यस्ता विनाशकारी घटनामा हुने जोखिमको छुट्टै विनाशकारी पुनर्बिमा (क्याटसटपिक इन्स्योरेन्स) पनि गरिन्छ । त्योअनुसार यसअन्तर्गतको दाबीमा पनि पुनर्बिमाबाट ठुलो रकम आउने अध्यक्ष क्षेत्रीले बताए । 

‘विनाशकारी घटनाले निम्त्याएको क्षतिमा पुनर्बिमा कम्पनीबाट पनि धेरै दाबी भुक्तानी हुन्छ । पुनर्बिमाबाट ४०–४५ प्रतिशतको अनुपातमा दाबी भुक्तानी हुन्छ,’ उनले भने, ‘तर, यो घटनाले विदेशी पुनर्बिमा कम्पनीले नेपाली बिमा बजारलाई धेरै जोखिममा भएको सूचीमा राख्ने भए । त्यसले गर्दा आगामी दिनमा हामीले विदेशमा पुनर्बिमा गर्दा समस्या हुन सक्छ ।’

 ०७२ को भूकम्पमा पनि कम्पनीहरूले दिएका थिए १६ अर्ब दाबी भुक्तानी 
०७२ मा पनि विनाशकारी भूकम्पमा करिब सात खर्ब रुपैयाँको क्षति भएको थियो । त्यसवेला १६ अर्ब ६९ करोड ४८ लाखबराबरका १७ हजार ८०० वटा दाबी परेका थिए । त्यसमा १६ अर्ब १२ करोड ४२ लाखबराबरको दाबी स्वीकृत भई भुक्तानी भएको थियो । त्यसमा नौ अर्ब हाराहारीमा विदेशी पुनर्बिमा कम्पनीबाट भुक्तानी भएको थियो ।

सबैभन्दा धेरै दाबी बागमती प्रदेशबाट 
तथ्यांकअनुसार बागमती प्रदेशभित्रबाट सबैभन्दा धेरै दाबी आउने अनुमान छ । बागमतीबाट ६ अर्ब ९३ करोड ८१ लाखबराबरका दुई हजार ७९ वटा दाबी आउने तथ्यांकमा छ । त्यसमा हालसम्म दुई अर्ब ५८ करोड ५८ लाखबराबरका ५५३ वटा दाबी कम्पनीहरूमा आइसकेको छ ।

दोस्रो नम्बरमा कोशी प्रदेशबाट १६ करोड ९९ लाखबराबरका १५९ वटा दाबी आउने अनुमान गरिएको छ । त्यसमा हालसम्म एक करोड १७ लाखबराबरका ११३ वटा दाबी आवेदन कम्पनीहरूमा आइसकेको छ । यस्तै, मधेश प्रदेश तेस्रो स्थानमा छ । त्यहाँबाट सात करोड ५९ लाखबराबरका ५६ वटा दाबी पर्ने अनुमान गरिएको छ । त्यसमा हालसम्म चार करोड १८ लाखबराबरका २४ वटा दाबी परिसकेको छ ।

यस्तै, लुम्बिनीबाट पाँच करोड ७५ लाखबराबरका २८ वटा, गण्डकीबाट चार करोड ६९ लाखबराबरका १४ वटा र कर्णालीबाट एक लाखबराबरको एउटा दाबी पर्ने अनुमान गरिएको छ । त्यसमा हालसम्म लुम्बिनीबाट दुई करोड २८ लाखबराबरका १३ वटा, गण्डकीबाट ९५ लाखबराबरका पाँच वटा र कर्णालीबाट एक लाखबराबरको एउटा दाबी आवदेन कम्पनीहरूमा आइसकेको छ । सुदूरपश्चिमबाट भने दाबी पर्ने अनुमान गरिएको छैन । पछिल्लो वर्षाले सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा त्यति क्षति पुर्याएको छैन । 

 सम्पत्ति बिमामा दाबी अधिक
क्षेत्रगत आधारमा सम्पत्ति बिमामा सबैभन्दा धेरै दाबी आउने अनुमान छ । सम्पत्ति बिमाबाट मात्रै ६ अर्ब ११ करोड ५१ लाखबराबरका एक हजार २५८ वटा दाबी आउने तथ्यांकमा उल्लेख छ । त्यसमा हालसम्म दुई अर्ब ३१ करोड ७१ लाखबराबरका ३३४ वटा दाबी कम्पनीहरूमा आइसकेका छन् । सम्पत्ति बिमामा घर, घरभित्र हुने सामान, स्टोर रुम, पसलहरूको बिमा गर्न सकिन्छ । यस्तै, जलविद्युत्लगायतका सञ्चालित परियोजनाहरूको बिमा पनि यसैअन्तर्गत गरिन्छ । पछिल्लो बाढीपहिरोले काभ्रेपलाञ्चोकलगायतका जिल्लामा घर नै बगाएको छ । स्टोरमा राखिएका सामान, घरभित्र राखिएका सामानमा क्षति भएको छ । यसैगरी, जलविद्युत् परियोजनाहरू पनि क्षतिग्रस्त बनेका छन् ।

जलविद्युत् क्षेत्रमा मात्रै पाँच अर्बबराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । धेरै दाबी आउनेमा इन्जिनियरिङ तथा ठेकेदार बिमा देखिएको छ । विशेष गरी निर्माणाधीन परियोजनाहरूको बिमा यसैअन्तर्गत गरिन्छ । पछिल्लो बाढीले निर्माणाधीन जलविद्युत् परियोजना, सडकलगायतका भौतिक पूर्वाधारलाई पनि क्षतिग्रस्त बनाएको छ । यसैगरी, धेरै बिमा दाबी पर्नेमा निजी मोटर बिमा तेस्रो स्थानमा छ । यसअन्तर्गत २७ करोड ३० लाखबराबरका ५४३ वटा दाबी पर्ने अनुमान गरिएको छ ।

यस्तै, सार्वजनिक गाडीबाट १५ करोड ४५ लाखबराबरका २४६ वटा दाबी आउने अनुमान गरिएको छ । यस्तै, पशुपक्षीतर्फ एक करोड १५ लाखबराबरका १९ वटा, सामुन्द्रिक (आयात–निर्यात र ढुवानी) तर्फ ९३ लाख २३ हजारबराबरका १८, कृषिबालीतर्फ ४३ लाख ६७ हजारबराबरका ९६ वटा र विविधमा १४ लाख ९५ हजारबराबरका आठवटा दाबी आउने अनुमान गरिएको छ ।

 सुशीलदेव सुवेदी, प्रवक्ता, नेपाल बिमा प्राधिकरण
कम्पनीहरूलाई छिटो दाबी पेस गर्न भनेका छौँ । यसको दाबी प्रक्रियामा प्राधिकरणले विशेष प्राथमिकता राख्नेछ र आवश्यक सहजीकरण पनि गरिदिनेछ ।

 चंकी क्षेत्री, अध्यक्ष
नेपाल बिमक संघ 

बाढीले धेरै क्षति पुर्याएको छ । तर, त्यसको तुलनामा दाबी भने कम नै हो । केही रकम तत्कालै अग्रिम भुक्तानी गर्नेछौँ ।

सुझावित समाचार