नेपाल, भारत र बंगलादेशबिच विद्युत् व्यापार सम्झौताको स्वागत

आइतबार, २० असोज, २०८१
डिजिटल संस्करण

नेपाल, भारत र बंगलादेशबिच विद्युत् व्यापारका लागि भारतको ग्रिडमार्फत नेपाल र बंगलादेशबिचको विद्युत् व्यापारलाई सहज बनाउने त्रिपक्षीय सम्झौताको नेपाल-भारत उद्योग वाणिज्य संघले  स्वागत गरेको छ ।

नेपाल जलविद्युत्, कृषि र पर्यटनका लागि प्रचुर सम्भावना भएको मुलुक भएको हुँदा नेपालको आर्थिक उत्थानका लागि यी तीन क्षेत्रहरूलाई मध्यनजर राखी विशेष रूपमा अगाडि बढाउनुपर्नेमा संघले जोड दिएको छ । 

‘संघले विगत पाँच वर्षदेखि भारतका साथै भारतीय प्रसारण संरचनामार्फत बंगलादेश तथा अन्य मुलुकहरूमा पनि विद्युत् व्यापार हुने वातावरण हुनुपर्छ भन्ने विषयवस्तुलाई प्रमुख एजेन्डामा राखी पहल गर्दै आएको छ,’ संघका नवनिर्वाचित अध्यक्ष सुनील केसीद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ, ‘यसै सन्दर्भमा सन् २०२३ को सुरुमा नेपाल र भारतबिच विद्युत् व्यापारका लागि १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारका लागि सम्झौता भई निकासी पनि सुरु भइसकेको छ । क्षेत्रीय विद्युत् व्यापारलाई सार्थक विविधिकरण गर्ने सिलसिलामा ०८१ असोज १७ गते काठमाडौंमा हस्ताक्षर गरिएको नेपाल, भारत र बंगलादेशबिचको त्रिपक्षीय सम्झौता दक्षिण एसियामा दिगो हरित ऊर्जा प्रवर्द्धनको साझा लक्ष्यमा क्षेत्रीय सहकार्य र सीमा पार ऊर्जा सहयोगका लागि अर्को कोसेढुंगाका लागि एक ऐतिहासिक दिन साबित हुनेछ भन्ने कुरामा संघ विश्वस्त छ ।’

नेपालका ऊर्जामन्त्री दीपक खड्का, ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ, बंगलादेशका वन, वातावरण, जलवायु परिवर्तन र जलस्रोतमन्त्री सैयदा रिजवाना हसन तथा भारतका राजदूत नवीन श्रीवास्तवको उपस्थितिमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बंगलादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष मोहम्मद रेजाउल करिम र भारतको विद्युत् व्यापार निगमकी प्रमुख कार्यकारी अधिकृत रेनु नारङद्वारा सम्झौतामा हस्ताक्षर भएको थियो ।  

सम्झौताले नेपालबाट बंगलादेशलाई भारतको प्रसारण संरचना प्रयोग गरी ४० मेगावाट जलविद्युत् निर्यात गर्न मद्दत पुर्याउँदै पहिलोपटक नेपालले तेस्रो देशलाई परिवर्त्य विदेशी मुद्रामा बिजुली निर्यात गर्ने आधार तयार गरेको छ । सीमा पार विद्युत् व्यापारको महत्त्वलाई थप उजागर गर्दै, क्षेत्रीय ऊर्जा सुरक्षालाई प्रोत्साहन गर्दै वातावरणीय दिगोपनमा योगदान पुर्याउने यो विद्युत् व्यापार सम्झौताले नेपाललाई भविष्यमा नवीकरणीय ऊर्जा केन्द्रको रूपमा उदाउँदै मनग्य आम्दानीको बाटो खोलेको संघको ठहर छ । अर्कोतर्फ स्वच्छ ऊर्जा स्रोतहरूको सख्त आवश्यकता रहेको बंगलादेशलाई महत्त्वपूर्ण नवीकरणीय ऊर्जा उपलब्ध गराउने अवसर सिर्जना भएको संघको ठहर छ।

‘तीन देशबिचको यो सहकार्यले वर्तमान अर्थतन्त्र मात्र होइन, भविष्यका सन्ततिहरूलाई पनि जलवायु परिवर्तनका असरबाट जोगाउन स्वच्छ, नवीकरणीय ऊर्जा स्रोतहरूको प्रयोगमार्फत लाभान्वित गर्नुका साथै यसबाट यस क्षेत्रमा थप एकीकृत ऊर्जा समाधानको मार्ग प्रशस्त गरेको छ जसले नेपाललगायत अन्य छिमेकी मुलुकहरूबाट थप लगानी भित्र्याउनमा सरकारी तथा निजी लगानीकर्ताहरूमा थप विश्वासको वातावरण सिर्जना भएको छ भन्ने कुरामा यस संघ विश्वस्त रहेको छ,’ संघ अध्यक्ष केसीले भनेका छन् ।

सम्झौताले वातावरणमा नकारात्मक असर पार्दै आएको परम्परागत इन्धनको निर्भरता घटाउन मद्दत पुर्याउनेछ । क्षेत्रीय रूपमै ऊर्जा माग बढ्दै गइरहेको अवस्थामा यस उपलब्धिलाई अझ व्यापक बनाउँदै यो क्षेत्रीय हरित विद्युत् व्यापारलाई यस क्षेत्रको हरित भविष्यको सुरक्षाका लागि एक महत्त्वपूर्ण कार्यको रूपमा लिएर भारत र बंगलादेशका सरकारी निकायहरूले नेपालमा जलविद्युत् उत्पादत तथा प्रसारणका क्षेत्रमा गरिरहेको लगानीलाई अझ व्यापक बनाउन संघले आग्रह गरेको छ । तीनै देशका लगानीकर्ताहरूले सरकारी निजी साझेदारीको अवधारणामा अगाडि बढ्न आजको आवश्यकता रहेको संघले जनाएको छ ।

सुझावित समाचार