नेपाली कांग्रेसले नवरात्रको अवसर पारेर पशुपति क्षेत्रका विभिन्न स्थानमा बाढीले जम्मा पारेको फोहर सफाइ गरेको छ। कांग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागको आयोजनामा भएको कार्यक्रममा पार्टीका उपसभापति धनराज गुरुङ, केन्द्रीय सदस्य एवं विभागका प्रमुख कल्याणकुमार गुरुङलगायत पार्टी नेता, कार्यकर्ताको उपस्थिति रहेको थियो। यही असोज १०, ११ र १२ गतेको वर्षा र त्यसपछि आएको बाढीका कारण पशुपति क्षेत्रमा थुप्रिएको फोहोर सफाइका लागि कार्यक्रम आयोजना गरिएको विभागका प्रमुख गुरुङले जानकारी दिए।
संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई सफा र स्वच्छ राखी विश्वका पर्यटक यहाँ आकर्षित गर्नुपर्छ भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पनि उनले जानकारी दिए। सम्पदा क्षेत्रलाई सधैँ सफा राख्नुपर्छ भनी पार्टीले वडातहसम्म जागरण अभियान चलाउने पनि जनाइएको छ। त्यस अवसरमा पशुपति क्षेत्रका विश्वरूप, मृगस्थली, गुह्येश्वरी र त्यसनजिकको बागमतीमा सफाइ गरिएको थियो।
कांग्रेसले बाढी, पहिरोका कारण बागमती नदीकिनार र नदीकिनारमा रहेका सम्पदा क्षेत्रमा जम्मा भएको फोहोरलाई निरन्तर रूपमा सफाइ गर्ने जनाएको छ। यसै क्रममा यही असोज २१ गते बिहान ७ बजे ललितपुरको बागमती किनारस्थित बिपीनगरमा रहेको कांग्रेस केन्द्रीय कार्यालयपरिसरमा सफाइ गरिने विभागीय प्रमुख गुरुङले जानकारी दिए।
सम्पदा सफाइ अभियानमा जुट्न उनले पार्टीका विभिन्न तहमा क्रियाशील नेता, कार्यकर्तालाई अनुरोध गरेका छन्। बाढी, पहिरोबाट बागमतीकिनारमा जम्मा भएको फोहोर सफाइ अभियान सकेपछि बागमतीको मुहानस्थित बागद्वारबाट नै नदी सफाइका लागि अभियान चलाउने तयारी पनि विभागले गरेको छ। यो अभियानका लागि बिपी संग्रहालय सुन्दरीजललाई विशेष जिम्मेवारी दिइएको पनि कांग्रेसले जनाएको छ।