हेटौँडाबाट ११ करोड ४३ लाखको अवैध सुनसहित दुई भारतीय पक्राउ

शनिबार, १९ असोज, २०८१
डिजिटल संस्करण

मकवानपुर प्रहरीले हेटौँडाबाट ११ करोड ४३ लाख बढीको अवैध सुनसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको देश महाराष्ट्र राज्य सांगलीका २५ वर्षीय अभिषेक अजिनाथ कुटी र सोही स्थानका २७ वर्षीय राहुल भिट्टिहाल बाड रहेका छन्।

उनीहरूलाई शनिबार बिहान ३ बजेको समयमा पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको चेकपोस्टअगाडिबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटीलाई रोकी जाँच गर्दा स्कुटरमा रहेका निजहरूको साथबाट ८ किलो दुई सय ४३ ग्राम नौ सय ७० मिलिग्राम बिस्कुट आकारका ८ थान सुनका टुक्रा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं प्रहरी उपरीक्षक विश्वराज खड्काले उक्त परिणामको सुनको आजको बजार मूल्य ११ करोड ४३ लाख ५७ हजार ८ सय ७८ रुपैयाँ ६ सय ५० पैसा रहेको जानकारी दिए। उनले ती व्यक्तिहरूले भारतबाट नेपाल प्रवेश गराइएको उक्त सुन जनकपुरबाट बसमा र पथलैयाबाट स्कुटरमा ल्याएको र काठमाडौं लैजान तयारी गरेको खुलेको बताए। 

उक्त सामानसहित निजहरू अभिषेक अजिनाथ कुटी र राहुल भिट्टिहाललाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाउने तयारी भएको प्रहरी प्रमुख खड्काले जानकारी दिए।
 

सुझावित समाचार