नदीले बगाएर मृत्यु भएको बालकका परिवारलाई दुई लाख क्षतिपूर्ति

शुक्रबार, १८ असोज, २०८१
डिजिटल संस्करण

असोज १२ गते शनिबार नदीमा आएको बाढीमा बगेर मृत्यु भएका गौशाला नगरपालिका– ८ कुशमाडीका १६ वर्षीय रोहित साहका परिवारलाई संघीय सरकारले दुई लाख क्षतिपूर्ति सहयोग प्रदान गरेको छ ।

शुक्रबार प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेसहित मृतकको घरमा पुगेर बुबा नारायण साहलाई सो रकम हस्तान्तरण गरेका हुन् ।

प्राकृतिक विपतले ठुलो क्षति हुन गएकोमा मृतक परिवारलाई धैर्यधारणका लागि उनीहरूले आग्रह गरे । घरनजिकैको सोनी खोलाले बगाउँदा मृतावस्थामा रोहितको शव मरहा खोलामा घरबाट दुई–तीन किलोमिटर टाढा फेला परेको थियो।  सोनी खोला कुशमाडीभन्दा केही अगाडि दक्षिणतर्फ मरहा खोलामा मिसिन्छ।  रोहित पाँच भाइबहिनीमा एक्ला छोरा थिए । 

प्रमुख जिल्ला अधिकारीले सोही घटनामा सकुशल उद्धार गरिएकी बालिका ११ वर्षीया करिना महतोलाई पनि भेटेका छन् । 

सुझावित समाचार