नारायणी अस्पतालमा सञ्चालनमा आएको दिनदेखि क्यान्सरको उपचार हुने
(अंकाेलोजी वार्ड) बन्द रहेको पाइएको छ । गत भदौ २५ मा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले भक्तपुर क्यान्सर अस्पताल र नारायणी अस्पतालबिच विस्तारित ६ शय्याको क्यान्सरको उपचार हुने (अंकाेलोजी वार्ड) उद्घाटन गरेका थिए ।
उद्घाटनको गर्दै मन्त्री पौडेलले अंकाेलोजी वार्ड सञ्चालनमा आएको तामझामको प्रचार गराएर आगामी दिनमा समस्या देखाएर बन्द नगर्न निर्देशन दिएका थिए । तर, उद्घाटन भएकै दिनदेखि आवश्यक उपकरण, सामग्री व्यवस्थापन गरेर उक्त शाखामा ताला लागेको अस्पतालका कर्मचारीहरूले बताएका छन् ।
अस्पतालमा बिरामी नआएको कारण अंकाेलोजी बन्द गरेर राखिएको नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. एनामुल हकले जानकारी दिए । उनका अनुसार बिरामीलाई चढाउने किमाेसहितका सबै सामग्री अस्पतालमा उपलब्ध भए पनि बिरामी नआएकै कारण उक्त सेवा सञ्चालन हुन नसकेको अवस्था छ ।
यो वार्डमा काम गर्ने स्वास्थ्यकर्मीहरू पनि प्रशिक्षण लिएर तयारी भइसकेकाले बिरामी आएको समयदेखि काम थालनी हुने डा. हकले बताए । सरकारी अस्पतालमा क्यान्सर रोग सेवा विस्तार गर्नेसम्बन्धी कार्यविधि २०८१ अनुसार प्रत्येक प्रदेशको एकवटा अस्पतालमा अंकाेलोजी वार्ड स्थापना गर्ने लक्ष्यअनुसार सञ्चालनमा ल्याइएको छ ।
अस्पतालका अनुसार नारायणी अस्पताल र भक्तपुर क्यान्सर अस्पतालबिच विस्तारित क्यान्सर उपचार सेवासम्बन्धी सम्झौतापत्रमा क्यान्सर उपचार सेवा सञ्चालनका लागि आवश्यक जनशक्तिलगायतका प्राविधिक सहयोग भक्तपुर क्यान्सर अस्पतालले व्यवस्थापन गर्ने तथा आवश्यक भौतिक पूर्वाधार, उपकरणलगायतको व्यवस्थापन नारायणी अस्पतालले गर्ने उल्लेख छ ।
मधेश प्रदेशमै क्यान्सरको पहिलो उपचार सेवा नारायणी अस्पतालमा सुरु गरिएकाले यससँगै वीरगन्जसहित मधेश प्रदेशका क्यान्सर रोगीलाई अब काठमाडौं, चितवन वा भारतमा जानुपर्ने बाध्यता हटेको डा. हकले बताए । नारायणी अस्पतालमा क्यान्सर रोगका प्रायः सबै उपचार सेवा उपलब्ध छ । नारायणी अस्पतालमा क्यान्सर रोगको स्क्रिनिङ, डाइग्नोसिस, केमोथेरापी, पालिटिएभ केयर, रेफरेल, काउन्सिलिङलगायतका सेवा सुरु रहेको उनले बताए ।
साथै यो सेवामा अतिरिक्त प्रत्येक महिना एकपटक भक्तपुर अस्पतालबाट नारायणी अस्पतालमा विशेषज्ञ चिकित्सकहरू आएर क्यान्सर रोगको उपचारको विशेषज्ञ सेवा दिने पनि उनले बताए । नारायणी अस्पतालसँगै कोशी प्रदेशमा कोशी अस्पताल विराटनगर, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली प्रदेशमा प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिमको सेती प्रादेशिक अस्पताल धनगढीमा क्यान्सर उपचार सेवा सञ्चालनमा ल्याइसकेको छ ।