अन्नपूर्ण स्क्वायर प्रालिले भारतको लक्जरी हस्पिटालिटी आइटिसी होटेलसँग व्यवस्थापन सम्झौता गरेको छ । सम्झौताअनुसार दरबारमार्गमा होटेल अन्नपूर्ण रहेको ठाउँमा नयाँ पाँचतारे होटेल सञ्चालन हुने भएको छ । यो सहकार्यले नेपालको हस्पिटालिटी क्षेत्रमा रूपान्तरणकारी अध्याय सिर्जना गरेको होटेल सञ्चालकले जानकारी दिएका छन् । अन्नपूर्ण होटेलको क्षेत्रलाई वेलकम होटेल ब्रान्डका रूपमा व्यवस्थापन गर्ने विश्वास लिइएको छ ।
यो आइटिसी होटेल्सको नेपालमा दोस्रो अन्तर्राष्ट्रिय परियोजना हुनेछ । तीन सय १८ वटा कोठा रहेको यो होटेलमा ३० सर्भिस अपार्टमेन्ट र चार सम्मेलन गर्न मिल्ने ठाउँमा उपलब्ध छन् । साथै, होटेलमा सपिङ आर्केड, मनोरञ्जनको क्षेत्रको पनि व्यवस्था रहने छ ।
यो सन् २०२८ को अप्रिलमा सञ्चालन गर्ने योजना रहेको सञ्चालकले जानकारी दिएका छन् । अन्नपूर्ण प्रालिकी कार्यकारी निर्देशक सिर्जना राणाले होटेल अन्नपूर्णको पुनर्निर्माण र सहकार्यबाट उत्साहित भएको बताइन् । अन्नपूर्णका स्क्वायर प्रालिका अध्यक्ष मीनबहादुर गुरुङले आइटिसी होटेल्ससँगको सहकार्यले नेपालको पर्यटन क्षेत्रमा उल्लेखनीय कोसेढुंगा साबित हुने बताए ।
त्यस्तै, आइसिटी होटेल्सका प्रमुख कार्यकारी अनिल चड्डाले आफूहरू अन्नपूर्ण स्क्वायरसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । उनले भने, ‘इतिहास बोकेको अन्नपूर्ण होटेलको विरासतलाई माथि उठाउने कार्यमा सहयोग गर्न पाउँदा खुसी छौँ ।’