नेपालको परम्परागत रैथाने बाली कोदो खेतीमा गिरावट आएको छ । तर, पछिल्लो समय सल्यानलगायत कर्णालीका अन्य जिल्लामा कोदो खेतीमा किसानको आकर्षण कम भएको हो ।
नगदेबालीतर्फको आकर्षण, आधुनिक खेती प्रणाली र जलवायु परिवर्तनका कारण यो बाली खेती घट्दै गएको बनगाड कुपिन्डे नगरपालिकाका कृषक तुल्सीराम थापाले बताए ।
किसानहरू अहिले अन्य नगदेबाली आलु, अदुवा र तरकारी खेतीतर्फ आकर्षित भएका कारण कोदोजस्ता परम्परागत बाली लोप हुँदै गएको उनको भनाइ छ । उनले भने, ‘विशेष गरेर चामलको भात खाने चलन बढ्यो, फाइदा पनि अन्य नगदेबालीले दिने भएपछि र कोदोको महत्वका बारेमा पर्याप्त जानकारी नभएर गाउँका धेरै किसानले कोदो खेती छाडेका छौँ ।’
कोदोजस्ता परम्परागत बालीहरू संरक्षण गर्दा स्थानीय जैविक विविधता सुरक्षित राख्न सकिने विज्ञहरूको भनाइ छ । रैथाने बालीको खेतीले माटोको गुणस्तरमा सुधार ल्याउने र वातावरणीय सन्तुलन कायम राख्न सहयोग पुर्याउने पारिस्थितिक प्रणालीमा आधारित अनुकूलन कार्यक्रम सल्यानका आयोजना प्रमुख डा. दिगम्बरसिंह दाहालले बताए । उनका अनुसार कोदो खेतीमा लगानी गर्न सजिलो भए पनि बजारमा उचित मूल्य नपाउनु र अन्य बालीहरूको आकर्षणले यसलाई पछि धकेलेको छ ।