गण्डकी सरकारले बाढीपहिरो प्रभावितहरूका लागि कोषमा ५० लाख सहयोग गर्ने

प्रदेशमा भएको क्षती मूल्यांकन गर्न समिति गठन

शुक्रबार, १८ असोज, २०८१
डिजिटल संस्करण

गण्डकी प्रदेश सरकारले बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कोषमा सो रकम जम्मा गर्ने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए । 

यसैगरी, बैठकले गण्डकी प्रदेशभित्र विपतका कारण भएको क्षतिको अध्ययन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका महानिर्देशक डा. प्रेरणा सेढाईंको संयोजकत्वमा गठन भएको समितिमा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका सिडिई हरिदत्त पौडेल र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव प्रवीण ढकाल सदस्य रहेका छन् ।

विपतले प्रदेशमा पुर्याएको क्षतिको मूल्यांकन गरी काम सुरु गरेको १५ दिनभित्र सुझावसहितको प्रतिवेदन पेस गर्न समयसीमा र कार्यादेश दिइएको छ । बाढीपहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ताको खोजी, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

मुख्यमन्त्री पाण्डेले विपतका कारण देशका विभिन्न स्थानमा मानवीयसँगै भौतिक क्षति भएकोमा आएको विपत्तिको सबै मिलेर सामना गर्नुपर्ने बताए । प्रदेश सरकारले विपतबाट प्रभावित नागरिकको उद्धार, उपचार, राहत, पुनर्निर्माणलगायतका कार्यमा संघ सरकारसँग आवश्यक समन्वय गर्ने जानकारीसमेत पाण्डेले दिए । यसअघि जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प प्रभावितहरूका लागि गण्डकी सरकारले एक करोड रुपैयाँ सहयोग गरेको थियो ।
 

सुझावित समाचार