कृषकले नै घटाए च्यांग्राको मूल्य

शुक्रबार, १८ असोज, २०८१
डिजिटल संस्करण
कृषकले नै घटाए च्यांग्राको मूल्य

फाइल तस्बिर/नयाँ पत्रिका

दसैँ पर्वका लागि मुस्ताङबाट ल्याइएको च्यांग्राको मूल्य यसपटक सस्तो भएको छ । च्यांग्राको संख्या बढेको र विगतका वर्षमा बजारमा ल्याएको च्यांग्राको मूल्य महँगो हुँदा व्यापार नभएपछि यसपटक कृषकहरूले नै बिक्री मूल्य घटाएका हुन् । गत वर्ष खोरमै प्रतिगोटा ४० हजारभन्दा बढी मूल्य तिरेर च्यांग्रा खरिद गरेका ब्यापारी टसी छेवाङ गुरुङले यसपालि ३० देखि ३३ हजारमा किसानबाट खरिद गरेको बताए । 

‘ठाउँअनुसार पाँचदेखि १० हजार कम मूल्यमा च्यांग्रा खरिद भएकाले बिक्री गर्ने मूल्य पनि घटाएका हौँ,’ उनले भने, ‘गत वर्ष काठमाडाैँ पोखरामा प्रतिगोटा ५५ हजार रुपैयाँसम्म परेको च्यांग्राको मूल्य यसपालि ४५ हजार रुपैयाँभन्दा कम हुन्छ ।’ गत वर्ष बजारमा ल्याएको च्यांग्रा महँगो हुँदा बिक्री नभएर व्यापारीले नोक्सान व्यहोरेको गुनासो गरेका थिए । 

छेवाङसहित डोल्पाका चारजना व्यापारीले मुस्ताङ हुँदै पाँच दिन हिँडेर दुई सय ५० च्यांग्रा बिक्री गर्न पोखरा लैजान बुधबार म्याग्दीको घोडेपानी पुगेका छन् । मुस्ताङका साथै डोल्पा र मुगुबाट ल्याइएका च्यांग्रा दसैँमा बिक्रीका लागि म्याग्दी हुँदै देशका विभिन्न सहर बजारमा पुग्न थालेका छन् ।  म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौंलगायत ठाउँबाट च्यांग्रा खरिद गर्न व्यापारीहरू मुस्ताङ पुगेर फर्किन थालेका हुन् ।

सुझावित समाचार