मनसुनका कारण केही महिना स्थगित भएको पोखराको हट एयर बेलुन यसै सातादेखि पुनः सञ्चालनमा आएको छ। हट एयर बेलुन साहसिक पर्यटकीय खेल हो । पछिल्लो समय साहसिक पर्यटनका पारखीहरूको रोजाइमा यो खेल परेको बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले जानकारी दिए ।
कम्पनीले करिब नौ हजार फिटमाथिसम्म हट एयर बेलुनमा उडान गर्दै आएको छ। बेलुनबाट माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिमालहरू, पूर्ण आकारको फेवाताल, पुम्दिकोट महादेव, सराङकोट मान्द्रेढुंगाबाट उड्ने प्याराग्लाइडिङ तथा पोखरा उपत्यकाआसपासको सुन्दर दृश्यावलोकन गर्न सकिनेछ ।
कम्पनीले हाल दुईवटा बेलुन उडाउँदै आएको छ। स्पेनका क्लेटो र बेलायतका हार्भे एलेक्जेन्डर गरी दुईजना पाइलटले बेलुन उडाउनेछन् ।
पोखराको पामेबाट हट एयर बेलुन उडान हुने बाडेले जानकारी दिए। उनका अनुसार बिहान र बेलुका गरी दुई सिफ्टमा बेलुन उडाइनेछ । बिहान ५ बजेदेखि ९ बजेसम्म र दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म उडान हुने बाडेले जानकारी दिए । कम्पनीका अनुसार तीन वर्ष उमेर पुगेका व्यक्तिले हट एयर बलुनमा उड्न सक्नेछन् ।
कम्पनीले ९एन–एएमडब्लु कलसाइनको बेलुनमा पाइलटबाहेक आठजना र ९एनभी कलसाइनको बेलुनमा पाइलटबाहेक एकपटकमा १२ जना यात्रुलाई उडान गर्दै आएको छ। बेलुन नेपालले आगामी क्रिसमस र अंग्रेजी नयाँ वर्ष सन् २०२५ लाई लक्षित गर्दै डिसेम्बर २४ देखि जनवरी १ सम्म पर्यटकीय राजधानी पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव आयोजनासमेत गर्दै छ।
कति लाग्छ शुल्क ?
हट एयर बेलुनमा उड्नका लागि नेपाली पर्यटकलाई ११ हजार रुपैयाँ शुल्क लाग्नेछ। यस्तै सार्क मुलुकका पर्यटकका लागि १२० डलर र अन्य मुलुककालाई १५० डलर शुल्क कायम छ। उक्त शुल्क तिरेपछि उडानसँगै ब्रेकफास्ट, लेकसाइडदेखि पामेसम्मकाे दुइतर्फी यातायात सुविधा, फोटो–भिडियो र प्रमाणपत्रसमेत पाइन्छ । पर्यटकले बेलुन रिजर्भ गरी प्राइभेट उडान गर्न चाहे सो सुविधासमेत रहेको छ ।
के ख्याल गर्ने ?
हट एयर बेलुनमा उड्न जाँदा बिहानपख केही चिसो हुने हुनाले न्यानो कपडा साथमै लिएर जाँदा राम्रो हुन्छ । यसबाहेक हिल भएको जुत्ता वा अन्य जुत्ताभन्दा स्पोर्टस् जुत्ता लगाउँदा उडानका क्रममा सहज हुनेछ ।