परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आर्टिफिसियल इन्टेलिजेन्स (एआइ)को प्रयोग मानवताको साझा हित तथा सबैको समृद्धिका लागि जिम्मेवार र मर्यादित रूपमा गरिनुपर्ने बताएकी छन्।
कतारको दोहामा बुधबार आयोजित एसिया कोअपरेसन डायलग (एसिडी)को सम्मेलनअन्तर्गत एसिडी बिजनेस फोरमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री राणाले त्यसलाई मानवहितमा प्रयोग गर्नुपर्नेमा जोड दिएकी हुन्।
‘अबको युगमा एआइलाई पछि छोडेर अघि बढ्न सकिँदैन, तर यसलाई मर्यादित रूपमा मानवहितमा प्रयोग गर्नुपर्दछ,’ परराष्ट्रमन्त्री राणाले भनिन्। परराष्ट्रमन्त्री राणाले विश्व शान्ति, स्थिरता र समृद्धिका लागि एआइलाई सकारात्मक र सिर्जनात्मक साधनका रूपमा अँगाल्नुपर्ने पनि उल्लेख गरिन्।
‘आर्टिफिसियल इन्टेलिजेन्स एन्ड न्यू बिजनेस मोडल’ विषयक सत्रमा परराष्ट्रमन्त्री राणाको भनाइ थियो, ‘आजको जटिल र प्रतिस्पर्धात्मक विश्वमा एआई एक प्रकारको ‘गेम चेन्जर’का रूपमा आएको छ। यसको दुरुपयोग नभई सिर्जनात्मक प्रयोगबाट लाभ लिन सक्नुपर्छ।’
एआई अब कुनै एक प्रविधि अर्थात् प्राविधिक उपकरण मात्र सीमित नभएर मानवीय जीवनमा आवश्यक शिक्षा, स्वास्थ्य, सुशासन, आर्थिक विकास तथा सुरक्षालगायतका लागि पनि प्रभावकारी साधन बनेको उनको भनाइ थियो।
यो प्रविधिलाई देशको व्यापारिक तथा कर्पोरेट क्षेत्रले पनि आफ्ना व्यापारिक एवं व्यावसायिक प्रवर्द्धनका लागि प्रयोग गर्नुपर्ने उनले बताइन्। कर्पोरेट क्षेत्रका डाटाको प्रयोग र विश्लेषण एवं आफ्ना उत्पादन र सेवाहरूको विस्तारमा एआईले सहयोग पुर्याउने पनि परराष्ट्रमन्त्रीले बताइन्।
यसको प्रयोगबाट बजारको विश्लेषण एवं अनुसन्धान, उत्पादनका लागि दक्षताको सुधार एवं सूचना प्रणालीमा सहयोग पुग्ने, तर यसका जोखिम र चुनौतीहरू पनि बिर्सन नहुने परराष्ट्रमन्त्री रााणको तर्क थियो। कतिपय तथ्य तथा तथ्यांकको गोपनीयता, गलत अर्थात् भ्रमपूर्ण सूचनाको प्रसार तथा रोजगारीमा आउन सक्ने गिरावटलाई गम्भीर चुनौतीका रूपमा लिनुपर्ने उनले बताइन्।
अर्को प्रसंगमा परराष्ट्रमन्त्री राणाले नेपालमा लगानीको अनुकूल वातावरण भएको भन्दै लगानीका लागि लगानीकर्ताहरूलाई आह्वान गरिन्।
‘नेपालमा लगानीको अनुकूल वातावरण निर्माण गर्न आवश्यक कानुनहरू पनि परिमार्जन गरेका छौँ। नेपाल सरकारले ऊर्जा, उत्पादन, पर्यटन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र कृषिलाई लगानीका प्रमुख प्राथमिकतामा राखेको छ। एआई पनि नेपालमा लगानीको एक नयाँ क्षेत्र बन्न सक्छ। अहिले नेपालमा लगानीको उचित अवसर र वातावरण पनि छ। त्यसैले नेपालमा विविध क्षेत्रमा लगानी गर्न आउनुहोस्,’ उनको भनाइ थियो।
कार्यक्रममा सहभागी नेपाल उद्योग वाणिज्य महासंघमा आबद्ध नेपाली उद्योगी तथा व्यवसायीहरूसँग समन्वय गरी नेपालमा लगानी गर्न उनले विश्वका लगानीकर्ताहरूलाई आग्रह गरेकी थिइन्।
परराष्ट्रमन्त्री राणा कतारको दोहामा बुधबार सुरु भएको एसिडीको तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाबाट त्यहाँ पुगेकी थिइन्। संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी भएर मंगलबार उनी दोहा पुगेकी थिइन्।