परासी अनुगमनका क्रममा मिठाईमा किरा भेटियो

बुधबार, १६ असोज, २०८१
डिजिटल संस्करण

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका– ३ मा रहेको अमृतम् स्विट्स मिष्ठान्न भण्डारमा बेच्न राखिएको मिठाईमा किरा र ढुसी भेटिएको छ।

पश्चिम नवलपरासीको जिल्ला संयुक्त बजार अनुगमन समितिले परासी सदरमुकाममा रहेका मिष्ठान्न भण्डारमा बुधबार अनुगमनको क्रममा अमृतम् स्विट्समा किरा र ढुसी भेटिएको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका उद्योग अधिकृत पुरुषोत्तम पौडेलले जानकारी दिए।

उनका अनुसार अमृतम् स्विट्समा सेतो रसबरी र रातो रसबरीमा किरा र ढुसी, पनिरमा ढुसी भेटिनुका साथै दुर्गन्धित भइसकेको मिठाई बेच्न राखेको भेटिएको हो।

अनुगमनको क्रममा ढुसी परेको पाँच केजी पनिर र म्याद नाघेका पेय पदार्थसमेत फेला परेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्य निरीक्षक दीपक यादवले बताए।

फेला परेका सबै अखाद्य वस्तु जिल्ला प्रशासन कार्यालय नवलपरासीका नायबसुब्बा चिरञ्जीवी पौडेलले बताए। आउँदै गरेको दसैँ, तिहार र छठमा बजारमा हुन सक्ने कालोबजारीलाई रोक्न संयुक्त रूपमा बजार अनुगमन गरिएको हो।

बुधबार सदरमुकाम परासीमा रहेका ६ वटा मिष्ठान्न भण्डार अनुगमन गरिएको थियो।

सुझावित समाचार