दसैँ, तिहार, छठजस्ता चाडपर्वलक्षित गरी यात्रा गर्ने यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै नवलपुर प्रहरी यात्रुवाहक बसमा सादा पोसाकमा खटिने भएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले सवारीसाधनमा हुन सक्ने लुटपाट, चोरीका साथै यात्रुमाथि हुन सक्ने दुर्व्यवहार र मनपरी भाडा असुली रोक्न यात्रुवाहक बसमा एक महिला र एक पुरुष गरी दुई प्रहरी सादा पोसाकमा खटाउने भएको बताए।
उनले यसका लागि कम्तीमा १० जना प्रहरी छुट्याइएको र उनीहरूले नियमित सादा पोसाकमा यात्रु बनेर बसभित्रै बसेर गस्ती गर्ने बताए। नवलपुरको दाउन्नेदेखि गैँडाकोटसम्म शंकास्पद लागेको बस वा जुनसुकै बसमा छड्के गर्ने गरी प्रहरीलाई नै यात्रु बनाएर राख्ने उनले बताए। यो योजना बिहीबार घटस्थापनाकै दिनदेखि लागू गर्ने उनले जानकारी दिए।
छड्केमा रहेको प्रहरीले नजिककाे प्रहरी कार्यालय वा राजमार्गमा गस्तीमा रहेको प्रहरीलाई खबर गर्ने र तुरुन्त कारबाही अघि बढाउने प्रहरी उपरीक्षक ढकालले बताए।
उनले चाडपर्वको समयमा हुन सक्ने चोरी, लुटपाट तथा अन्य घटना नियन्त्रण गर्न विशेष योजना तयार पारिएकोसमेत बताए। प्रहरीले चाडपर्वको समयमा यात्रुबसमा विशेष निगरानी राख्नेदेखि यात्रु सहायता कक्षा स्थापना गर्ने, सादा पोसाकमा गाउँघरमा गस्ती गर्ने, बसमा क्षमताभन्दा बढी यात्रु चढ्न नदिन ठाउँठाउँमा चेकिङ गर्नेलगायत योजना रहेको बताए।
प्रहरीले सार्वजनिक क्षेत्र, यात्रु चढ्ने, उत्रने मुख्य स्थानहरूमा समेत निगरानी बढाउने उनले बताए। यात्रु सहायताका लागि जिल्लाका विभिन्न स्थानमा आठवटा यात्रु सहायता कक्ष निर्माण गरिनेछ। चाडपर्वको समयमा हुन सक्ने घटना नियन्त्रणका लागि सुरक्षा प्रदान गर्न जिल्लाभर ३४५ प्रहरी परिचालन हुने जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए।