अविरल वर्षापछि आएको बाढी तथा डुबानका कारण सर्लाहीमा दुई हजार ५३३ परिवार प्रभावित भएका छन्। लगातारको वर्षापछि बागमती नदी, लखन्देही, झिम, सोती, मनुस्मारालगायत खोलामा बाढी आएको थियो। बाढी बाँध फुटाएर गाउँमा पसेपछि जिल्लाको दक्षिण–पश्चिममा रहेका आठवटा पालिका प्रभावित भएका छन्। बाढी तथा डुबानमा परेर २९० घर पूर्ण रूपमा नष्ट भएको छ भने ५७४ घरमा आंशिक क्षति पुगेको जिल्ला विपत् व्यवस्थापन समिति संयोजक प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जानकारी दिए।
यस्तै, जिल्लामा एक हजार ६६९ घर बाढी पसेर डुबाएको छ। बाढी तथा डुबानमा परेर घरवास गुमाएका परिवार नजिकैका आफन्तकाेमा शरण लिएर बसिरहेका प्रजिअ अधिकारीले जानकारी दिए। केहीलाई स्थानीय प्रशासनले नजिकैका सार्वजनिक भवन तथा धर्मशालामा राखेका छन्। विस्थापितहरूलाई प्रहरी–प्रशासनले खानेपानी तथा चिउरा, चाउचाउलगायत खाद्यान्नसमेत वितरण गरिरहेका उनले जानकारी दिए।
बलरा नगरपालिकाको ११ वडामा १०६ वटा घर पूर्ण रूपमा र २८२ घरमा आंशिक क्षति पुगेको छ भने ५०८ घर बाढीमा डुबेका छन्। बाढीमा डुबेका घरमा समेत कम्मर–कम्मरसम्म पानी जमेकाले बस्न सक्ने अवस्था नरहेको बलरा नगरपालिकाका प्रमुख रामाशंकरप्रसाद कुशवाहले जानकारी दिए। जिल्लामा क्षतिको विवरण संकलन गरिरहेको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ। स्थानीय तह, विभिन्न संघसंस्थासँगको सहकार्यमा राहत पुर्याउने काम गरिरहेको प्रजिअ अधिकारीले बताए।
यस्तै, रामनगर गाउँपालिका– १, २, ६ र ७ का गाउँमा ८१ घरमा पूर्ण रूपमा र ९० घरमा आंशिक क्षति पुगेको छ भने ३३० घर डुबानमा परेका छन्।
जिल्लाको ब्रह्मपुरी गाउँपालिकामा पनि झिम नदीको बाढी पस्दा त्रिभुवननगर गाउँका ४० घरमा आंशिक क्षति पुगेको छ भने १९० घर बाढीले डुबानमा पारेको छ। बागमती नदीको बाँध फुटेर पसेको पानीले बसबरिया गाउँपालिका– २, ढापटोलमा आठ घरमा पूर्ण क्षति पुगेको छ भने ११७ घर डुबानमा परेको छ।
यसैबिच, सोती खोलामा आएको बाढीले बरहथवा नगरपालिका– ४, हरपूर्वा गाउँमा पाँच घरमा आंशिक क्षति पुर्याएको छ भने चार घर डुबानमा परेको बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवालले जानकारी दिइन्। चन्द्रनगर गाउँपालिका– १, २, ३, ४ र ५ का विभिन्न गाउँमा गरी ३२ परिवारको घर पूर्ण रूपमा र ५२ घरमा आंशिक क्षति पुगेको छ भने ३७० घर डुबानमा परेका छन्। गाउँका अधिकांश कच्ची घरमा झिम नदीको बाँध फुटेर बाढी पसेको गाउँपालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिए।
जिल्लाको धन्कौल गाउँपालिका– ३, ४, ५, ६ र ७ का गाउँमा बागमती खोलाको बाढी पसेको छ। यस पालिकामा ६३ वडा कच्ची घर पूर्ण रूपमा र १०५ वटा घरमा आंशिक क्षति पुगेको छ। तीन सयवटा घर डुबानमा परेका छन्। बागमती खोलामा आएको बाढी बाँध भत्काएर गाउँतर्फ सोझिएको स्थानीय रामविनय महतोले बताए। बाढीले यस क्षेत्रमा तरकारी र धानबालीमा अत्यधिक क्षति पुर्याएको छ भने उखुखेतीमा समेत आंशिक क्षति पुगेको स्थानीयको भनाइ छ।
यस्तै, विष्णु गाउँपालिका– ७, डुमला टोलमा पनि एउटा घरमा बाढीले पूर्ण रूपमा क्षति पुर्याइदिएको छ। बाढी तथा डुबानबाट प्रभावित अधिकांश स्थानमा अझै कम्मरसम्म पानी जमेका कारण स्थानीयले पकाएर खानसमेत समस्या भएको बताएका छन्। दाउरा भिजेको र ग्यास चुलाे विपन्न परिवारको पहुँचमा नरहेका कारण समस्या भएको उनीहरूले गुनासो गरे। तत्कालका लागि खाना पकाएर खाने व्यवस्था गरिदिन बसबरिया गाउँपालिका– २, ढापटोलका दीपेन्द्र ठाकुरले अनुरोध गरे।
बाढी तथा डुबानमा रहेका अधिकांश गाउँका स्थानीयले स्वच्छ खानेपानी नपाएको गुनासो गरेका छन्। चापाकलहरू पानीमा डुबेका र खानेपानीको दिगो व्यवस्था नभएका कारण दूषित पानीका कारण स्थानीय संकटमा रहेको बलरा नगरपालिका–१, निवासी चुनचुन महतोले बताए। स्थानीयले पहिलो आवश्यकताअनुसारको राहतसमेत नपाएको उनले गुनासो गरे। बाँस र माटोले बनेका खपडा, टायल र जस्ताको छाना भएका कच्ची घरहरू डुबानमा परेर क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।