विजयादशमीको अवसरमा भरतपुरमा पहिलोपटक प्रथम विश्वप्रकाश कप हुने भएको छ। भरतपुर महानगर– १५ स्थित विश्वप्रकाश स्कुल टोल विकास संस्थाको आयोजनामा सेभेन ए साइड खुला नकआउट फुटबल प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा जिल्लाभित्रका करिब ३० टिमको सहभागिता रहने सो कार्यक्रमका संयोजक अर्जुनकुमार श्रेष्ठले आज (बुधबार) पत्रकार सम्मेलनमार्फत जानकारी दिए।प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार १११ रुपैयाँसहित प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्ने श्रेष्ठले बताए।
दोस्रो हुने टिमले नगद ३१ हजार १११ रुपैयाँ प्राप्त गर्ने श्रेष्ठको भनाइ छ । त्यस्तै, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, खेलाडी, सर्वाधिक गोलकर्ताले तीन–तीन हजारसहित ट्रफी प्राप्त गर्नेछन् भने प्रत्येक खेलको म्यान अफ दी म्याचलाई पाँच सय रुपैयाँ प्रदान गरिने श्रेष्ठले बताए।
प्रतियोगिता विश्वप्रकाश माध्यमिक विद्यालयको खेलमैदानमा असोज १७ गतेदेखि सुरु भएर २० गतेसम्म चल्ने टोल विकास संस्थाका अध्यक्ष बालकृष्ण अधिकारीले जानकारी दिए। उनका अनुसार प्रतियोगिताले यस क्षेत्रको खेल विकास र खेलाडीको क्षमता विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ।