ढोरपाटनका मेयर नेपाली कारागार चलान

बुधबार, १६ असोज, २०८१
डिजिटल संस्करण
ढोरपाटनका मेयर नेपाली कारागार चलान

फाइल तस्बिर

जिल्ला अदालत बागलुङले ढोरपाटन नगरपालिका प्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

मंगलबार थुनछेक बहसपछि जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले नेपालीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको अदालका इजलास अधिकृत ऋषिराम रिजालले जानकारी दिए ।

सहकारीको बचत रकम अपचलन गरेको आरोपमा १६ महिनादेखि फरार नेपालीलाई केन्द्रीय अनुसन्धान ब्युरोले शनिबार भारतबाट पक्राउ गरी नेपाल ल्याएर जिल्ला अदालतमा सोमबार पेस गरेको थियो । नेपालीको बयान सोमबार नै सकिएको थियो । 

सहकारी ठगीमा अध्यक्ष नेपालीसहित सञ्चालकविरुद्ध कास्कीका ५२४ र बागलुङका एक हजार ५४३ बचतकर्ताले गत वर्ष जेठमै उजुरी दिएका थिए । सहकारीका बचतकर्ताको दुई अर्ब बचत रकम हिनामिना गरी ५ जेठ ०८० मा उनी बुर्तिबाङ बजारबाट सपरिवार फरार भएका थिए । 

नेपालीसँगै पक्राउ परेका ओमप्रसाद दर्जीलाई एक लाख ५० हजार धरौटीमा छोड्न अदालतले आदेश दिएको छ । यो मुद्दामा सहकारीका अन्य पदाधिकारी र कर्मचारी चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परिसकेका छन् । उनीहरूलाई जिल्ला अदालतको ५ साउन ०८० को आदेशले पुर्पक्षका लागि थुनामा पठाएको छ । भण्डारी, बुढा र किसान थुनामा छन् । परियार र बुढामगर ०८१ पुस पहिलो साता पक्राउ परेर पुर्पक्षका लागि कारागारमा छन् । 

सोमबार अदालतमा बयान दिने क्रममा मेयर नेपालीले आफू मेलमिलाप गर्न आएको बताएका थिए । ‘म सबै बचतकर्ताको रकम फिर्ता गर्छु । यसका लागि सुरुमा हिसाब गर्नुपर्छ, बचतकर्ताले पाउनुपर्ने पैसा कति हो, ऋण लगेकाले कति तिर्न बाँकी छ, सम्पूर्णको हरहिसाब आउनुपर्यो । मेरो र श्रीमतीको नाममा रहेका घरजग्गा बिक्री गरेर मैले तिर्नुपर्ने पैसा तिर्न तयार छु,’ उनले भनेका थिए ।

सुझावित समाचार