मंगलबार बाढी प्रभावित क्षेत्रको अवलोकनमा निस्केका माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपत्पीडितका लागि राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम युद्धस्तरमा अगाडि बढाउन आग्रह गरेका छन् । राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि माओवादीले सुरु गरेको स्वयंसेवक परिचालन अभियानको काठमाडौंको बल्खुस्थित सुकुम्बासी बस्तीमा मंगलबार उद्घाटन गर्दै प्रचण्डले राहत दिने काममा लाग्न सम्बद्ध सबैलाई आग्रह गरे ।
मौसमको पूर्वानुमान हुँदाहुँदै सरकारले विपत् व्यवस्थापनको पूर्वतयारी र प्रतिकार्यको काम गर्न नसक्दा क्षतिको मात्रा बढेको उनले बताए । संकटको वेला सत्तापक्ष र प्रतिपक्ष नभनी आमजनतालाई हातेमालो गरेर राहत र पुनर्स्थापनामा जुट्न आग्रह गरे । ०७२ को भूकम्पको वेलामा पनि आफूले प्रतिपक्ष दलको नेताकै रूपमा संविधान निर्माण र पुनर्निर्माणको नेतृत्व गरेको उल्लेख गर्दै प्रचण्डले बाढीपहिरोपीडित जनताको पीडामा साथ दिन पूर्ण रूपमा लागेको बताए ।
राजधानीका बाढी प्रभावित क्षेत्र काठमाडौंको बल्खु, ललितपुरको नक्खु र भक्तपुरको हनुमन्ते क्षेत्रको स्थलगत अवलोकन गर्न गएका प्रचण्डसँग बाढीपीडितले विपत्को वेला अभिभावकत्व गरिदिन आग्रह गरेका छन् । डुबानमा परेको लामो समयसम्म पनि सरकारले ध्यान नदिएको भन्दै ललितपुरका पीडितले विपक्षी दलका नेता प्रचण्डसँग गुनासो गरेका छन् ।
प्रचण्डको सचिवालयका अनुसार अझै उद्धारको काम नसकिएको, धेरै मानिस घरबारविहीन भएको, विद्यार्थीको पठनपाठन प्रभावित भएको भन्दै पीडितहरूले जतिसक्दो चाँडो जनजीवन सहज बनाइदिन आग्रह गरेका छन् । पीडितलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीले सक्नेजति पार्टीका नेता तथा कार्यकर्ताबाट र बाँकी सरकारलाई आग्रह गरेर पीडितहरूलाई पुरानै अवस्थामा फर्काउने प्रतिबद्धता जनाए । सबै मिलेर जनजीवन सहज बनाउनेतर्फ लाग्नुपर्नेमा उनले जोड दिए ।
सांसदहरूले बाढीपहिरोपीडितका लागि राहतकोष स्थापना गरेको छ । ग्लोबल आइएमई बैंक कोटेश्वर शाखामा ३६०१०१०००००४५ नम्बरको खातामा रकम जम्मा गर्न सकिने गरी माओवादीले राहतकोष स्थापन गरेको हो । कोषमा माओवादीका संघीय र प्रदेश सांसदले १०–१० दिनको पारिश्रमिक जम्मा गर्नेछन् । स्थानीय तहका जनप्रतिनिधिलाई स्वेच्छिक सहयोग गर्न भनिएको छ । पार्टीका प्रदेश समितिहरूले पनि राहत रकम संकलन गरी केन्द्रीय राहतकोषमा जम्मा गर्ने माओवादीले जनाएको छ ।
माओवादीले केन्द्रीय कार्यालय पेरिसडाँडामा हेल्पडेस्क स्थापना गरेर दैनिक विपत्को स्थिति अद्यावधिक गर्न थालेको छ । ‘विपत्को सामना गर्न पार्टीपंक्ति, जनवर्गीय संगठन र मोर्चा संगठनलाई विपत् क्षेत्रमा स्वयंसेवक खटाउन, खोज, उद्धार, राहत र पुनर्स्थापनामा जुट्न मातहतका समितिलाई परिपत्र गरिएको छ,’ उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले भने, ‘बाढीपहिरोको क्षतिबारे स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न केन्द्रीय कार्यालयमा हेल्पडेस्क राखिएको छ । हेल्पडेस्कबाट सूचना आदान–प्रदान हुने र त्यसले खोज, उद्धार, राहत र पुनर्स्थापनामा सहयोग पुग्नेछ ।’