रक्षाखर्चमा ३० प्रतिशत वृद्धि गर्ने रुसको तयारी

मंगलबार, १५ असोज, २०८१
डिजिटल संस्करण

रुसले आगामी वर्ष आफ्नो रक्षासम्बन्धी खर्चमा करिब ३० प्रतिशतले वृद्धि गर्ने योजना बनाएको छ। सोमबार प्रकाशित बजेट योजनाको मस्यौदाअनुसार पछिल्लो योजनाबद्ध वृद्धिले रुसको रक्षा बजेट सन् २०२५ मा एक सय ३५ खर्ब रुबल (एक खर्ब ४५ अर्ब डलर) को हुनेछ।

रक्षा र सुरक्षामा संयुक्त खर्चले रुसको कुल सरकारी खर्चको करिब ४० प्रतिशत हिस्सा ओगट्नेछ। यो सन् २०२५ मा चार सय १५ खर्ब रुबल हुने अनुमान गरिएको छ।

रुसको संसदमा मस्यौदा बजेट पठाउनुअघि मस्कोले उच्च सैन्य खर्चका साथै लगानी र सामाजिक कल्याणमा वृद्धिको घोषणा गरेको हो।

अर्थमन्त्री एन्टोन सिलुआनोभले रक्षा र सुरक्षामा खर्चको प्रावधान विशेष सैन्य अभियानका लागि स्रोतहरू प्रदान गर्ने र विशेष सैन्य अभियानमा सहभागिता जनाउने मानिसका परिवारलाई सहायता प्रदान गर्ने उद्देश्यसहित ल्याइएको बताए।

यद्यपि, आँकडाहरूले सैन्य खर्चले अर्थतन्त्रका अन्य क्षेत्रहरूमा हुने खर्चलाई बाहिर पारेको संकेत गरेका छन्। ‘राष्ट्रिय रक्षा’मा योजनाबद्ध खर्च मस्कोले ‘सामाजिक नीति’ भनेर लेबल गरेका क्षेत्रहरूमा विनियोजन गरिएको रकमको दोब्बरभन्दा बढी छ। (रासस\\एएफपी)

सुझावित समाचार