सुशासन समितिमा सांसद केसीकाे प्रश्न- प्रधानमन्त्री आउँदा विमानस्थल किन बन्द गर्नुपर्‍याे ?

मंगलबार, १५ असोज, २०८१
डिजिटल संस्करण
सुशासन समितिमा सांसद केसीकाे प्रश्न- प्रधानमन्त्री आउँदा विमानस्थल किन बन्द गर्नुपर्‍याे ?

तस्बिर : रासस ।

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले प्रधानमन्त्री आउँदा विमानस्थल बन्द गरिएकोमा विरोध जनाएका छन्।

राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका केसीले प्रधानमन्त्री विदेशबाट अवतरण गर्न लागेको भनेर विमानस्थल बन्द गर्नु जायज नभएको बताएका हुन्।

प्रधानमन्त्री केपी ओली अमेरिका भ्रमण सकेर फर्किने क्रममा सोमबार विमानस्थल नै बन्द गरेर भव्य स्वागत गरिएको थियो। त्यसको आलोचना गर्दै सांसद केसीले त्यसले आफूसहित थुप्रै यात्रु प्रभावित भएको बताए।

समितिको बैठकमा भाग लिन पोखराबाट प्लेन चढेर आउन लाग्दा प्रधानमन्त्री आउन लागेको भन्दै उनले विमानमा चढिसकेका वेला पनि झर्नुपरेको गुनासो गरे।

‘बाटोहरू सबै बन्द भएकाले आजको बैठकका लागि पोखराबाट काठमाडौं आउन मैले हिजो प्लेन चढ्नुपर्ने भयो। बढी भाडा तिरेर भए पनि १ बजेको प्लेनको टिकट लिएँ। तर, १ बजे उड्ने भनेको प्लेन ३ बजे बल्ल चढ्न पाएँ,’ सांसद केसीले भने, ‘तर, प्रधानमन्त्री विदेशबाट अवतरण गर्न लागेको भनेर एयरपोर्ट बन्द भएको सूचनापछि फेरि प्लेनबाट झर्नुपर्याे। प्रधानमन्त्री आउँदा विमानस्थल किन बन्द गर्नुपर्याे ?’

सांसद केसीले काठमाडौंमा मात्रै बाढीबाट यति ठुलो जनधनको क्षति हुनुले देशमा सरकार छ कि छैन भन्दै प्रश्न उठेको बताए। ‘काठमाडौंमा मात्रै बाढीबाट ३७ जनाको मृत्यु भयो, दुर्गम क्षेत्रमा त सरकार कसरी पुग्ला ?’ उनले प्रश्न गरे, ‘काठमाडौंमा चार घण्टा टिनको छानामाथि बस्दा पनि उद्धार हुन सकेन। यही हो मौका भनेर पोखराबाट प्लेनमा आउँदा तेब्बर भाडा उठाइरहेको छ, सरकार भएको देशमा यस्तो हुन्छ ?’ 

सुझावित समाचार